September 7, 2024, Saturday
KN hd tv

एमाले–कांग्रेसले बाँडे राजदूत नियुक्ति, कसको भागमा कुन देश ?

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच राजदूत नियुक्तिमा सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनको एक सातामै राजदूत भागवण्डा र नियुक्तिमा जुटाएका हुन् । 

उच्च नेतृत्व तहमा भएको सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ । यी चार वटै शक्ति राष्ट्र हुन्, जहाँ पहिलो पटक र एमालेले एकै पटक आफ्नो सिफारिसमा राजदूत पठाउन लागेको हो ।  प्रधानमन्त्री ओली निकट उच्च स्रोतका अनुसार भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति बनेको छ । 

एमाले र कांग्रेसबीच खाली रहेका अन्य देशमा पनि राजदूत सिफारिस गर्ने सहमति सहजै बनेको उच्च स्रोतले जनाएको छ । सहमति अनुसार एमालेभन्दा कांग्रेसले एक बढी देशमा राजदूत सिफारिस गर्नेछ । दुई छिमेकीमध्ये एमालेले चीन र कांग्रेसले भारतमा राजदूत सिफारिस गर्ने सहमति बनेको हो । लामो समयदेखि कांग्रेस र कम्युनिस्ट पार्टीहरूबीच सत्ता सहकार्य हुँदा चीनमा कम्युनिस्ट पार्टीको सिफारिसमा राजदूत नियुक्त हुँदै आएको छ । चीनमा अहिले माओवादी केन्द्रको सिफारिसमा गएका विष्णुपुकार श्रेष्ठ राजदूत छन् । नयाँ राजदूत सिफारिस हुनुअघि श्रेष्ठलाई फिर्ता बोलाउने सरकारको तयारी छ ।

त्यस्तै रुसमा एकीकृत समाजवादी पार्टीको सिफारिसमा पठाइएका मिलनराज तुलाधर अहिले राजदूत छन् । हाल एकीकृत समाजवादी विपक्षमा रहेकाले राजदूत तुलाधरलाई पनि फिर्ता बोलाउने तयारी छ । सोही पार्टीको सिफारिसमा राजदूत बनाएर अस्ट्रेलिया पठाइएका कैलाश राज पोखरेललाई पनि फिर्ता बोलाइने छ ।  भारत, अमेरिका र बेलायतस्थित राजदूतहरूलाई यस अघिकै सरकारले फिर्ता बोलाइसकेको छ । 

शीर्ष समाचार

धेरै पढिएको