March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

कुलमानलाई दोहोर्‍याउन ऊर्जामन्त्रीको प्रस्ताव नै गएन, प्रधानमन्त्रीको रुची भएन

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुन: नियुक्तिको लागि सोमबारको मन्त्रिपरिषद्को बैठकमा कुरा नै उठ्न सकेन ।

आइतबार नै चार वर्षे कार्यकाल सकिएका घिसिङलाई प्राधिकरणको नेतृत्व दिन सामाजिक सर्वसाधारण, विद्वान, कलाकार पूर्व प्रशासक लगायतले माग गरिरहेका छन् । तर मन्त्रिपरिषद्को सोमबारको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले कुलमान नियुक्तिको प्रस्ताव नै लैजानुभएन । ऊर्जा मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली घिसिङलाई दोहोर्याउने मनस्थितिमै हुनुहुन्न । 

सोमबारको मन्त्रिपरिषद्को बैठकको अन्तिममा पनि ऊर्जामन्त्री वर्षमान पुनले मेरो मन्त्रालयको एउटा कुरा थियो भन्दै हुनुहुन्थ्यो तर प्रधानमन्त्रीले ‘मैले तपाइँको कुरा बुझिसकेँ,  केही मिल्ने रहेछ भने हेरौँला’ भन्नुभएको थियो ।

बैठकको नियमित समयमा कुलमान घिसिङको नियुक्तिका विषयमा कुरै नउठेको भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । ‘बैठकमा विभागीय मन्त्रीले नै कुलमान घिसिङको प्रस्ताव ल्याउनुभएन, अन्तिममा मन्त्रीको खै कुरालाई लिएर हाँसो भएको थियो, औपचारिक प्रस्ताव भने आएकै छैन ’ अर्यालले भन्नुभयो । 

केही दिनअघि नेकपाका अर्का अध्यक्ष प्रचण्डले घिसिङलाई दोहोर्याउन प्रधानमन्त्री ओलीसँग कुराकानी गर्नुभएको थियो । ओलीले दुई वर्षको लागि भए पनि कार्यकाल थप्ने बताउनुभएको थियो । तर अहिले ओली दुई वर्षको लागि पनि कुलमानलाई नियुक्ति दिनको लागि आनाकानी गरिरहनुभएको छ ।

‘ऊर्जा मन्त्रालयमा कुलमानलाई नियुक्त गर्ने विषयमा प्रस्ताव लेख्ने काम पनि भएको थियो, तर अहिले प्रधानमन्त्रीको रुची नभएको मात्रै होइन मन्त्रीज्यूले पनि प्रस्ताव नै लैजान नचाहेको जस्तो देखिएको छ ।’ ऊर्जा मन्त्रालय स्रोतले उज्यालोलाई भन्यो । 

दैनिक १८ घण्टाको लोडसेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्याउन माग गरेका छन् ।

२०५१ सालमा सातौँ तहको इन्जिनियरबाट प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत् आयोजनाको प्रमुखबाट हटाएर विद्युत् प्राधिकरणमा कामविहीन अवस्थामा राख्नुभएको थियो । तर पछि तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पहलमा सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।ujyaaloonline

शीर्ष समाचार

धेरै पढिएको