September 7, 2024, Saturday
KN hd tv

सुदूरपश्चिममा मन्त्रालय फुटाएर दिइयो पाँच मन्त्रीलाई जिम्मेवारी

कैलाली । सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (आइतबार) मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीहरूलाई जिम्मेवारी दिइएका हुन् । उनका अनुसार आज नै पाँचै जनाले पदभार ग्रहण गर्ने भएका छन् ।

सुदूरपश्चिममा हाल कायम रहेका मन्त्रालयहरूमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाइएको छ । भौतिक फुटाएर बनाइएको मन्त्रालयमा मन्त्रीमण्डलको दोस्रो वरियतामा रहेका नेकपा (माओवादी केन्द्र) का अक्कल रावललाई जनस्रोत तथा सहरी, नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै गरेर सामाजिक फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ ।

एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । तीमध्ये यी पाँच जनाले जिम्मेवारी पाएका थिएनन् ।

यसअघि एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिला मन्त्री बन्दा माओवादी केन्द्रका ओमविक्रम भाट सामाजिक विकास मन्त्री बनेका थिए । त्यसअघि जेठ ६ मा उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र जेठ १८ टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको थियो । सुदूरपश्चिममा विगतमा सात पूर्ण र चार राज्य गरेर ११ सदस्यीय मन्त्रीमण्डल बनाउने गरिएको थियो । यस पटक भने चार दलको तालमेलको सरकार बनेपछि १० जना पूर्ण मन्त्री बनेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको