July 18, 2024, Thursday
KN hd tv

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि जारी प्रक्रिया नै रद्द भएको छ । प्राप्त आवेदनमा पाँच जना दाबेदार छनोट भए पनि त्यसपछिको प्रक्रिया पूरा नै हुन नसकेपछि प्रक्रिया नै रद्द हुन पुगेको हो । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले सूचना प्रकाशन गर्दै सबै प्रक्रिया रद्द भएको जनाएको हो ।

अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ संयोजकत्वमा बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । तर अन्तिम ५ जनाको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण विवादमा परेसँगै समितिले ३ जनाको नाम अर्थ मन्त्रालयमा पठाउन सकेन । पाँचमध्ये तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने योजना थियो । तर, प्रतिस्पर्धीमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै अन्तर्वार्ताका लागि पुगेका थिए । बाँकी तीन प्रतिस्पर्धी नवराज अधिकारी, चिरञ्जिवी चापागाई र कृष्णबहादुर कार्की अन्तर्वार्ताका लागि गएनन् । त्यसपछि छनोट प्रक्रिया विवादित बनेको हो ।

धितोपत्र बोर्ड ऐन, २०६३ ले बोर्ड अध्यक्षका लागि सिफारिस समितिले कम्तिमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्नुपर्ने व्यवस्था गरेको छ । अन्तर्वार्तामा दुई जना मात्रै उपस्थित भएपछि कानूनी प्रश्न उठ्न सक्ने आशंकासहित समितिले महान्यायाधिवक्ताको कार्यालयसँग कानूनी राय मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले अन्तर्वार्तामा उपस्थित दुई जनाको नाम मात्रै मन्त्रिपरिषदमा सिफारिस गर्न नमिल्ने बरु अन्तर्वार्तामा सहभागी नभए पनि संक्षिप्त सूचीमा परेका कम्तिमा तीन जनाको नाम पठाउन मिल्ने जवाफ दिएको थियो ।

तर, अर्थ सचिव मधुकुमार मरासिनीले अन्तर्वार्तामा सहभागी नै नभएकाको नामसहित राखेर मन्त्रिपरिषद्मा सिफारिस गर्दा भविष्यमा कानूनी झमेलामा फस्न सक्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्ने संशय जनाएर यो प्रक्रिया अघि बढाउन आफ्नो असहमति प्रकट गरेको मन्त्रालय स्रोतले बनाएको छ । यससँगै प्रक्रिया नै रद्द भएको सूचना निकालिएको हो ।

समितिले सूचनामा भनेको छ, ‘…समितिको २०८१ असार १४ को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्ति नाम सिफारिस गर्न ०८० फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सबै प्रक्रिया रद्द गरिएको व्यहोरा सम्बद्ध सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ अब बोर्डमा अध्यक्ष नियुक्तिको प्रक्रिया कसरी अघि बढ्छ भन्ने खुलाएको छैन ।

dh

शीर्ष समाचार

धेरै पढिएको