September 7, 2024, Saturday
KN hd tv

भ्रष्टाचारविरोधी अभियन्ता बताउने चार जना ठगी आरोपमा पक्राउ

काठमाडौँ । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता दावी गर्ने चार जनालाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानुनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर विभिन्न वडाहरूमा त्यसका शाखाहरू समेत विस्तार गरेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा भ्रष्टाचारविरोधी अभियन्ता भन्दै जाने र असम्बन्धित सूचना माग्ने तथा धम्क्याउने गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरी वृत्त, बौद्धमा जाहेरी परेपछि असार ३ गते चार जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, सोही नगरपालिका–८ का २६ वर्षीय आदर्श क्षत्री, वडा नं १ की २० वर्षीया अस्मिता खत्री र वडा नं २ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेका छन् ।

‘तिमीहरूको विरुद्धमा भ्रष्टाचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामीकहाँ परेको छ, त्यस विषयमा छानबिन गर्न आएका हौँ, हामीलाई सबै हिसाबकिताब देखाऊ भन्दै असम्बन्धित सूचनाहरू माग्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, मुद्दा हालदिन्छु भनी आतंक सृजना गरी भिडियो बनाई रकमसमेत असुली गर्ने, पुष्टि नै नभएका कुरा सामाजिक सञ्जालमा राखी चरित्रहत्या गर्नेजस्ता कार्यहरू गरेको उजुरी परेको छ’, प्रहरीले भनेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै भ्यूज बढाउने नाममा युट्युवमा विभिन्न भिडिओ बनाएर ‘न्यायाधीश’ बन्ने हरूमाथि निगरानी बढाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको