September 7, 2024, Saturday
KN hd tv

गण्डकीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत दिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राप्रपाले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री पाण्डेले सोमबार प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै राप्रपा दल नेता पञ्चराम गुरुङले केन्द्र सरकारको विपक्षमा रहेकाले वर्तमान प्रदेश सरकारलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

‘केन्द्रको प्रभाव प्रदेशमा पर्न नसकोस् र पर्ने छैन भन्ने तथ्य साबित गर्न पनि अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्र सरकारको समर्थनमा होइन कि केन्द्र सरकारको विपक्षमा अर्थात् अहिलेको मुख्यमन्त्रीलाई समर्थन गर्नका लागि म र मेरो दल यहाँ उपस्थित भएको छु’, उनले भने ।

उनले आगामी वर्षको बजेटमा विकासका कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिए । केन्द्रमा गठबन्धन बदलिँदा सत्तापक्ष र प्रतिपक्षी फेरिनु दुःखद भएको उनको भनाइ थियो । प्रदेशको विकासबारे छलफल गर्नुपर्ने समयमा सरकारको भविष्यमाथि चिन्ता गर्नुपर्ने विषय ठीक नभएको उनले बताए ।

राप्रपाले समर्थन गर्ने घोषणा गरेसँगै मुख्यमन्त्री पाण्डेले बहुमत पाउने सम्भावना बढेको छ । पाण्डेले कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य रहेका नेसपाका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा बहुमत ३१ सांसदको समर्थन पाउने पक्का जस्तै भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको