June 17, 2024, Monday
२०८१ असार ४, सोमबार
KN hd tv

सुदूरपश्चिम सरकारमा एमाले र माओवादीबाट तीन–तीन जना मन्त्री बन्दै

कैलाली । सुदूरपश्चिम सरकारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएका छन् । केहीबेरपछि दुवै दलले नेकपा एकीकृत समाजवादीको नेतृत्वको सरकारीमा सहभागी हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री दीर्घ सोडारीलाई बुझाउने कार्यक्रम छ । त्यसअघि दुवै दलको संसदीय दलको बैठक बस्नेछ ।

सुदूरपश्चिममा एमाले र माओवादीका तीन–तीन जना मन्त्री बन्न लागेका हुन् । ‘आजै क्याविनेट विस्तार हुन्छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘मन्त्रीहरुको नियुक्ति र शपथको तयारी सुरु भइसकेको छ ।’

भागबण्डा मिलाउन तीन मन्त्रालय फुटाइँदै
सुदूरपश्चिममा गठबन्धनभित्र भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी भएको छ । नेकपा एमाले र माओवादी केन्द्रलाई तीन-तीन वटा मन्त्रालय दिनका लागि मन्त्रालय फुटाउन लागिएका हुन् । सुदुरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित सात मन्त्रालय छन् । तीन वटा फुटाएर १० मन्त्रालय बनाउने तयारी छ । संविधानमा पनि कूल प्रदेश सभा सदस्यको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधान छ । सुदूरपश्चिममा ५३ प्रदेश सभा सिट छ ।

नेकपा एमाले (११), माओवादी (सभामुखसहित) (११),नागरिक उन्मक्तिको रञ्जिता पक्षका २ जना र स्वतन्त्र सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी (४) का नेता दीर्घ बहादुर सोडारी बैशाखको ६ गते मुख्यमन्त्री भएका हुन् । मुख्यमन्त्री भएको झण्डै दुई महिनापछि हुन लागेको सरकार विस्तारमा एमाले र माओवादीले तीन-तीन मन्त्रालय मागेपछि सोडारीले मन्त्रालय विभाजन गर्न लागेका हुन ।

‘उन्मुक्तिका २ जना प्रदेश सभा सदस्य नै मन्त्री भए, एमाले र माओवादीका ११-११ प्रदेश सभा सदस्य छन, उनीहरूले तीन-तीन मन्त्रालय मागेपछि मुख्यमन्त्रीसँग मन्त्रालय विभाजनको विकल्प छैन,’ एक जना समाजवादीका नेताले भने । यता मन्त्रालय फुटाउने कुरामा नाउपाबाट भौतक पूर्वाधार मन्त्री बनेका कैलाश चौधरी भने तयार छैनन् । उनले पार्टी अध्यक्ष रञ्जीता चौधरी र मुख्यमन्त्री सोडारीलाई मन्त्रालय विभाजन नगर्न आग्रह गरेको बताए ।

मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय विभाजन गर्ने तयारी गरेका छन् । ‘मन्त्रालयहरू विभाजन गरेर १० मन्त्रालय बनाइन्छ, अनि त्यसपछि भागबण्डा मिलाएर शपथ हुने तयारी भएको छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो ।

शीर्ष समाचार

धेरै पढिएको