June 17, 2024, Monday
२०८१ असार ४, सोमबार
KN hd tv

प्रधानमन्त्रीको विश्वासको मतविरुद्ध सर्वोच्च पुगे उपेन्द्र यादव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट लिएर पुगेका हुन् ।

सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले यादवको रिट सर्वोच्च आइपुगेको र आवश्यक प्रक्रिया पुर्‍याएर दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए । अध्यक्ष यादवको तर्फबाट आइतबार एक अधिवक्ताले जसपा नेपालबाट विभाजित भई अशोक राई नेतृत्वमा गठित जनता समाजवादीका ७ जना प्रतिनिधि सभा सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै रिट दिएका हुन् ।

जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसदमा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले निवेदकले त्यसलाई रोक्न रिटमा माग गरेका छन् । यादवले जसपा नेपालबाट अलग भएका सात जना पार्टीविहीन भएको र उनीहरू जसपा नेपाल र जसपा दुबैको सांसद नभएको जिकिरसहित उनीहरूले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि उनले संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् । यसअघि जसपा नेपाल विभाजनविरुद्धको रिटमा सर्वोच्चले नयाँ पार्टीको दर्ता प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो । गत जेठ २ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले जसपा नेपाल र जसपालाई छलफलका लागि बोलाएको थियो । जेठ ८ गते छलफलमा आउन भनिएको थियो ।

राई नेतृत्वको जनता समाजवादी पार्टीलाई यथास्थितिमा राख्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश पनि दिएको थियो । ‘यसअघि अल्पकालीन आदेश जारी भएको थियो, जेठ ८ गते त्यसको पेशी छ। त्यस मुद्दाको टुंगो नलाग्दै प्रधानमन्त्रीको विश्वासको मतदानमा सहभागी नगराउन र रोक्न भन्दै रिट दायर भएको हो,’ घिमिरेले भने ।

शीर्ष समाचार

धेरै पढिएको