May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६, बुधबार
KN hd tv

आज विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

जनकपुर – मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । मधेस प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जानकारी दिए ।

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । उनले मुख्यमन्त्री नियुक्त भएयता यो चौथो पटक लिन लागेको विश्वासको मत हो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।

एक सय सात सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । हाल सत्तागठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ ।

शीर्ष समाचार

धेरै पढिएको