September 7, 2024, Saturday
KN hd tv

पोखरामा बेपत्ता युवक खोज्न खोलियो सेतीको बाँध

पोखरा । बेपत्ता युवकको खोजीका लागि पोखरा महानगरपालिका–१६ स्थित सेती नदीको बाँध खोलिएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत तनहुँका १९ वर्षीय संगम मिश्र २५ मंसिरदेखि सम्पर्कविहीन भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले युवकको खोजी गर्न सिँचाइ आयोजनाका लागि थुनिएको सेती नदीको बाँध खोलिएको जानकारी दिए । बाँध साँझ ४ बजेसम्म खुला रहने जानकारी दिए । ‘अहिले उहाँको खोजी कार्य प्रहरीले गरिरहेको छ । साँझ ४ बजेसम्म बाँध खोल्ने भनेका छौं’, उनले भने ।

तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुङ्गे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको प्रहरीले जनाएको छ । बाँध खोल्दा नदीमा पानीको बहाव बढेकाले उक्त समयमा नदी वरिपरि काम गर्न र आवतजावतमा चनाखो हुन प्रहरीले सूचना जारी गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको