December 6, 2023, Wednesday
२०८० मंसिर २०, बुधबार
KN hd tv

कांग्रेसका दुई महामन्त्री भूकम्प प्रभावित क्षेत्रमा, यी सात काम गर्ने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्र गएका छन् । जाजरकोट भूकम्पपछिका अवस्थाबारे अनुगमन र सहजीकरण गर्न कांग्रेसले महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समिति समेत गठन गरेको थियो ।

भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत क्षेत्रको स्थलगत अवलोकनका लागि महामन्त्रीद्वय थापा र शर्मा बुधबार त्यसतर्फ गएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर महामन्त्रीद्वय विशेष गरी सात कार्यमा केन्द्रित रहने उल्लेख गरेका छन् ।

‘महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउनु हुनेछ,’ मुख्यसचिव पौडेलले भने ।
यी सात काम गर्ने
१. उद्वार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै पनि कयौं पीडितमा नपुगेको भनेर संचारमाध्यममार्फत उजागर कमजोरीहरुको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने ।

२. संघ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरुबीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण गर्ने ।
३. उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरुबाट कतै प्रतिकूल असर परेको अवस्था त छैन? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण गर्ने/गराउने ।

४. उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेकोे नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनर्स्थापना सम्पादन गर्नुपर्ने विषयहरुको अध्ययन गर्ने ।

५. घाइतेको उपचारमा ध्यान केन्द्रित गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने ।
६. सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय ।
७. पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रुपमा बुझाइएको छ । यसको कार्यान्वयनमा के कस्तो समस्याहरु आइपर्न सक्छन्, सरोकारवालाहरुको सुझावहरु के–के छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्ने ।

शीर्ष समाचार

धेरै पढिएको