September 7, 2024, Saturday
KN hd tv

विशेष विमानबाट पोखरा पुगे गुटेरेस, बेलायती राजकुमार चार्ल्स बसेको कोठामा बास

गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आएका हुन् ।

गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो । उलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गरे ।

विमानस्थल परिसरमा पोखरेलीका तर्फबाट विभिन्न जाताजातिका झाँकीमार्फत गुटेरेसको स्वागत गरिएको थियो । गुटेरेसले स्वागतमा उभिएका पोखरेलीलाई गाडी भित्रैबाट हात हल्लाएर अभिवादन गरेका थिए । महासचिव गुटेरेस विमानस्थलबाट गाडीमार्फत सिधै लेकसाइस्थित फिस्टेल होटेलमा गए । उनी आज पोखरा बस्ने र मङ्गलबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ । गुटेरेस दोस्रो पटक पोखरा आइपुगेका हुन् । सन् १९७८ मा विद्यार्थी कालमा पोखरा आइपुगेको बताउँदै गुटेरेसले त्यो बेलै आफू पोखराबाट प्रभावित भएको बताएको मेयर आचार्यले जानकारी दिए ।

‘१९७८ मा पहिलो पटक विद्यार्थी कालमा पोखरा आएर यतैबाट दिल्ली पुगेको थिएँ । त्यो बेला नै म पोखराबाट प्रभावित थिएँ’, गुटेरेसको भनाइ उधृत गर्दै मेयर आचार्यले भने, ‘दोस्रो पटक अहिले संयुक्त राष्ट्रसंघको महासचिव भएर पोखरा आउन पाउँदा खुसी लागेको छ ।’

गुटेरेसलाई फिस्टेल लजमा ताल र हिमाल देखिने कोठाको व्यवस्था गरिएको छ । २०३९ सालमा पोखरा आइपुगेका बेलायती राजकुमार चार्ल्स बसेकै कोठामा गुटेरेस बसेका छन् । धेरै विदेशी तथा धनाढ्य व्यक्तिहरुको रोजाइमा सोही कोठा पर्ने र त्यसको मूल्य साढे ३ सय डलर रहेको लज व्यवस्थापनले जानकारी दिएको छ ।

हिन्दी फिल्म ‘हरे राम हरे कृष्ण’ सुटि ङसमेत गरिएको लजमा भारतीय अभिनेता देवानन्द पनि सोही कोठामा बास बसेका थिए । गुटेरेस मंगलबार बिहान ६ः३० बजे सेनाकै हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर पुग्ने कार्यतालिका छ । गुटेरेसले पोखरा फिस्टेल लज र अन्नपूर्ण आधार शिविरमा जलवायु परिवर्तन सम्बन्धी भिडियो सन्देश रेकर्ड गर्ने कार्यक्रम रहेको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा गुटेरेसले जलवायु परिवर्तनबारे जानकारी लिने छन् । स्थानीयले पनि उनलाई समस्या सुनाउने योजना रहेको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए । आधार शिविरमा गुटेरेसलाई अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयले स्वागत गर्ने कार्यक्रम रहेको अन्नपूर्णका अध्यक्ष विष्णु केसीले जानकारी दिए । गुटेरेसलाई पुग्ने भएपछि अन्न्पूर्ण आधार शिविरमा छुट्टै हेलिप्याड बनाइएको छ । मंगलबार नै लुम्बिनी जाने कार्यक्रम छ ।

शीर्ष समाचार

धेरै पढिएको