July 15, 2024, Monday
KN hd tv

राजा खोज्दै छ समाज

स्थानीय बासिन्दाको निमन्त्रणालाई स्वीकारेर भक्तपुर पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार तलेजु भवानी र आकाश भैरव मन्दिरमा पूजाअर्चना गरेका छन्। उनलाई स्वागत गर्न भक्तपुर दरबार स्क्वायरमा स्थानीय ठूलो सङ्ख्यामा जम्मा भएर नेपालको राष्ट्रिय झण्डा फहराएका थिए भने कलाकारको समूहले परम्परागत सांस्कृतिक साङ्गीतिक बाजा बजाएका थिए। उक्त अवसर पारेर पूर्व राष्ट्राध्यक्षको सम्मानमा सांस्कृतिक शोभायात्रा पनि आयोजना गरिएको थियो।

त्यसपछि सल्लाघारीको एक होटलमा स्थानीय जनतासँग भेटघाट र पत्रकारको जिज्ञासाको जवाफ दिँदै पूर्वराजाले भक्तपुरका स्थानीय जनतासँग भेट्न पाउँदा खुसी लागेको बताए।

यसबाहेक पूर्व राजाले भक्तपुरवासीको अपार माया देख्दा आफू निकै खुसी भएको बताउँदै जनताले देखाएको आफूप्रतिको विश्वासप्रति उनले धन्यवाद व्यक्त गरेका थिए।

भक्तपुरका स्थानीयवासीले आयोजना गरेको स्वागत समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद, नेपाली सेनाका पूर्व उच्चपदस्थ अधिकृत तथा स्थानीय जनताको उपस्थिति रहेको थियो।

भक्तपुरमा देखिएको भीडपछि पूर्व राजा शाहको चर्चा भइरहेको छ। उनको चर्चा जुन स्वाभाविक पनि हो। राजनीतिक नेतृत्व प्रतिको असन्तोषका कारण राजतन्त्रलाई नै वर्तमान समस्या समाधानको अचुक उपाय मान्नेको जमात पनि कम छैन। तर यथार्थमा यस्को सम्भावना छ ? भन्ने गम्भीर प्रश्न छ।

तत्कालीन राजालाई जनआन्दोलनको बलमा राजगद्दीबाट हटाइएको थियो। त्यसैले उनले राजनीतिमा फर्कने निर्णय गरेमा वर्तमान राजनीतिक दलहरूको समर्थन अनिवार्य हुन्छ। जसको सम्भावना अहिलेसम्म कमै छ।

पूर्व राजा र उनको निकटवर्ती परिवारलाई विगतमा लागेका आरोप अझ पनि विवादित छन्। सन् २००१ मा तत्कालीन राजकुमार दीपेन्द्रले गरेको शाही नरसंहारलाई अधिकांश जनता अझै पनि स्वीकार गर्दैनन्। यहाँसम्म कि ज्ञानेन्द्रलाई समर्थन गर्ने वा राजाको रुपमा पुनर्स्थापित भएको देख्न चाहनेहरु पनि उक्त शाही नरसंहार सम्बन्धी छानबिनलाई पत्याउदैनन्। उक्त घटनाक्रमको सत्यतथ्यलाई जनसमक्ष सार्वजनिक गर्न तत्कालीन राष्ट्राध्यक्षका हैसियतबाट पूर्व राजा ज्ञानेन्द्रले नै हुकुम दिएका थिए।

अलि अपत्यारिलो लाग्नसक्छ तर ऐतिहासिक तथ्य अनुसार शाही परिवारलाई ज्योतिषप्रति पनि गम्भीर उत्सुकता र विश्वास छ। धेरै ज्योतिषीहरूले पारसलाई कहिल्यै राजा नबन्ने भविष्यवाणी गरेका थिए। यस अतिरिक्त तत्कालीन राजा ज्ञानेन्द्रका नाति हृदयेन्द्रले गद्दी सम्हाल्ने भएकाले उनलाई नव युवराज घोषित गरिएको चर्चा पनि त्यसबखत चलेको थियो। पूर्व युवराज्ञी हिमानी शाहबाट अहिले भइरहेको क्रियाकलाप र उनको सकारात्मक सार्वजनिक छविलाई हेर्दा सो अवस्था साकार पनि हुनसक्छ।

समय महत्त्वपूर्ण र निर्णायक हुन्छ। यो राजनीतिक क्षेत्र हो। यसमा घटनाक्रम जुनसुकै बेला परिवर्तित हुनसक्दछ। त्यसैले सम्भवत राजा ज्ञानेन्द्र यस खेलमा प्रवेश गर्नको लागि उपयुक्त समयको पर्खाइमा हुनसक्छन्।

त्यतिन्जेलसम्म वर्तमान राजनीतिक प्रणालीले जनताको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्न नसकेको तथ्यले पूर्व राजाको सिंहासनमा फर्कन सक्ने सम्भावित परिस्थितिलाई निर्माण गरिरहेको हुन्छ। तर परिस्थितिले सकारात्मक परिणाम दिएको अवस्थामा जनचाहना र यथार्थ बीच एकरूपता सम्भव होला त ? यो सर्वाधिक जटिल प्रश्न हो।

आम जनताको बुझाइमा पुनर्स्थापित हुनसकेको खण्डमा देशका लागि तत्कालीन राजा ज्ञानेन्द्र सबै समस्या समाधान गर्ने अचुक औषधि हुनेछन्। वर्तमान प्रणालीलाई नै सत्तोसराप गर्नुपर्ने मुख्य समस्या बनेको भ्रष्टाचारलाई निर्मूल पार्नु उनको पहिलो दायित्व मानिनेछ। जसअनुसार अहिलेसम्म शंकालु मानिएका राजनीतिक नेतृत्व लगायत प्रशासनिक, न्यायिक र सुरक्षा निकायका उच्चतम तहलाई उनले कारबाहीबाट दण्डित गरेर देखाउनुपर्ने हुन्छ।

समर्थन वा सहमतिबाट राजगद्दीमा आसीन हुने अवसर जुटाइदिने त्यही दलको नेतृत्वलाई कारबाही गर्न कत्तिको सहज होला। त्यसमा पनि पछिल्लो पटक राजा भइरहँदा भ्रष्टाचार सम्बन्धी छानबिन गर्न आफैंले बनाएको शाही आयोगलाई सर्वोच्च अदालतबाट खारेज गरिदिएको अवस्था हुँदाहुँदै यसपटक सोही उपक्रम दोहोर्याउन सम्भव होला ?

अचुक औषधि मान्ने जनताको लागि त्यस प्रकारका कुनै परिवर्तनकारी वातावरण बनाउन नसक्दाको प्रत्युत्पादक परिस्थितिले कसरी अवतरण गराउनेछ। यसबारे भावनाबाट ओतप्रोत समाजभित्र कुनै सोच विचार देखिँदैन। पूर्व राजाको पुनर्स्थापनालाई सबैले सहज र स्वागत योग्य नमान्न पनि सक्छ। त्यस अवस्थामा शाही नरसंहारलगायत अनेकानेक आरोप प्रत्यारोपको उठान गरिन्छ। पूर्व राजा ज्ञानेन्द्रप्रति समर्पित नै उनको कालखण्डमा भएको छानबिनलाई अस्वीकार गरिरहँदा अझ विरोधीबाट लगाउने आक्षेपको परिणाम के होला ?

पूर्व राजाको भ्रमणलाई चर्चा गर्नु असामान्य विषय होइन। राष्ट्राध्यक्ष भइसकेका व्यक्तिको निजी जीवन वा भेटघाटबारे जनताले रुचाएका हुन्छन्। यस क्रममा उनको देशभित्र वा बाहिर हुने भ्रमणप्रति कौतुहल हुनेछ। केही दिन पहिला भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भएको भेटघाट चर्चित भएको थियो। हुनत नाथ सम्प्रदायका संस्थापक प्रणेता गुरु गोरखनाथलाई आफ्नो इष्ट मान्दै आएको शाहवंशीय राजपरिवार र सोही सम्प्रदायको गोरखनाथ पिठका प्रमुख योगी आदित्यनाथ बीच एउटै गुरुलाई मान्ने भएर भेटघाट भइरहनु सामान्य विषय हो।

तर नेपालमा हिन्दूराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको वकालत गर्दै आएका योगीसँगको भेटलाई कतिपयले स्वाभाविक र व्यक्तिगत ठानेका छन्। कतिपयले कुनै आशय राखेरै भएको भेट ठानेका छन्। केही वर्षअघि पशुपति क्षेत्रमा रहेको वनकालीमा आयोजना भएको ‘विराट विश्व हिन्दू सम्मेलन’मा शाह र योगी दुवै एउटै मञ्चमा देखिएका थिए।

माघे सङ्क्रान्तिमा गोरखनाथ पीठमा गोरखनाथ प्रकट भएको दिवस मनाउँदा त्यहाँ प्रसादका रूपमा खिचडी बाँडिन्छ र त्यसका लागि नेपालको पूर्व राजपरिवारको भान्साबाट पहिलो सामग्री पठाइदिने जस्तो सांस्कृतिक सम्बन्ध अहिले पनि कायमै रहेको बताइन्छ।

वास्तवमा नेपालको सामाजिक जीवनमा राजतन्त्रलाई विशिष्टीकृत मानिन्छ। पूर्व राजा ज्ञानेन्द्र वा तत्कालीन राजपरिवारसम्म यसको प्रभाव सीमित नभई सामान्य नागरिकका घरपरिवार भित्र पनि उक्त जीवनशैली देख्न सकिन्छ। खास गरेर महत्वपूर्ण पदमा बस्ने व्यक्ति र तिनीहरूसँग उसको निकटवर्ती को व्यवहारमा राजतन्त्रात्मक सोचाइ धूमिल भइसकेको छैन। राजनीतिक दलका नेता र तिनका कार्यकर्ता तथा आमजनता बीचको व्यवहारमा राजतन्त्रको बास्ना देख्न सकिन्छ।

यसैगरी न्यायिक, प्रशासनिक र सुरक्षा निकायका उच्च पदस्थ र उनीहरू मातहत कार्यरत कर्मचारी वा आमजनताको परस्पर सम्बन्धनमा अझ पनि राजतन्त्र झल्किन्छ। कार्यकर्ता, मातहतका कर्मचारी वा आमजनतालाई प्रजा सरह मान्ने र सोहीअनुरूप व्यवस्थापन गर्ने चलनको समापन हुन सकेको छैन। परिणामस्वरूप लोकतान्त्रिक अभ्यासलाई सहजतापूर्वक स्वीकार गर्नुपर्छ भन्ने बानी बन्न सकेको छैन।

त्यसकारण नेता र कार्यकर्ताबीच केही हदसम्म राजा र प्रजा जस्तै पारस्परिक व्यवहार भइरहेको पाइन्छ। नेताको बुझाइमा उनको चाहनालाई अकाट्य मान्नुपर्ने हुने गर्दछ भने कार्यकर्ता र जनताले पनि राजा जस्तै अभिभावकत्व खोजिरहन्छ। जबकी वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले सबैलाई समान अधिकार दिएर आफ्ना अभिभावक वा संरक्षक आफैँ हुनुपर्ने निर्देश गरेका छन। यही मनोवैज्ञानिक द्वन्द्वात्मक परिस्थितिको कारण समाज र संविधान बीच सहज एकाकार हुन नसकेर तनावपूर्ण माहौल छदैछ।

यसलाई बुझ्न नसकेर नेपाली समाज बारम्बार आफ्नो छटपटीलाई नेतृत्व परिवर्तनबाट समाधान हुनसक्छ भन्ने भ्रम पालेर बसिरहने गर्दछ। चाहनाअनुसार सहज निकास पाउन नसकेर फेरि नेतृत्व परिवर्तन को चक्रव्यूहबाट गुज्रिरहने गर्दछ। यसले नेताहरूलाई पनि अहङ्कारी बनाउनेमात्र नभई जनतालाई निराश र निष्क्रिय मनस्थितिका बनाइदिन्छ।

राजतन्त्रात्मक शासन वा जीवनशैलीलाई कुनै व्यक्तिसँग जोडिएर मान्नु बुद्धिमत्तापूर्ण विचार हुँदैन। यो एकप्रकारको मनोवैज्ञानिक परिस्थिति हो। नेपालको राजनीतिमा स्थापित हुँदै आएका हरुबाट आफूलाई राजतन्त्रात्मक शैलीयुक्त बनाउने गरेको ऐतिहासिक तथ्य छ।

राणाशासन, शाहवंशीय औपचारिक राजतन्त्रदेखि वर्तमान लोकतान्त्रिक गणतन्त्र का दलपति वा स्वतन्त्र निर्वाचित पदाधिकारी यसको प्रमाण हुन्। त्यसैकारण सत्ता प्राप्त गर्न देशभित्र रक्तपात र षडयन्त्रलाई वैधानिक हैसियत बन्दै आएको छ।

स्थापित राजतन्त्रात्मक परिपाटीलाई अन्त्य गर्न विद्रोह वा आन्दोलनमार्फत सत्तारुढ फेरि सोहीअनुरूप व्यवहार गर्ने गरेको पाइन्छ। यसकारण जनतालाई पनि सहजकर्ता, अभिभावक वा संरक्षक मातहत बस्ने बानी परेकोले दलीय शासन प्रणाली हुँदाहुँदै पनि दलभित्रैबाट राजा भइदिने नेतालाई खोजिरहन्छ।

शीर्ष समाचार

धेरै पढिएको