July 24, 2024, Wednesday
KN hd tv

तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा, काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ – आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा छन् । माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएका छन् । शिक्षकको आन्दोलनका कारण आज पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

माइतीघर मण्डला र नयाँ बानेश्वर रुट हुँदै चल्ने गाडीलाई विभिन्न ठाउँबाट डाइभर्सन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चक्रपथ, गौशाला, तीनकुने, सातदोबाटो, बल्खु, कलङ्की, भद्रकाली लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ । आज पनि देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा आएका छन् ।  यसैबीच, अहिले शिक्षक महासङ्घ र सरकारबीच वार्ता हुँदैछ । बिहान ९ बजेपछि नै वार्ता हुने भनिए पनि दुवै पक्ष आन्तरिक छलफलमा जुटेकाले ढिलो गरी वार्ता हुन लागेको हो ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको सरकारी टोलीले  छलफल सकारात्मक भइरहेकाले आज सहमति हुन सक्ने जनाएको छ । यस्तै, महासङ्घकी अध्यक्ष कमला तुलाधरले पनि आज सहमतिमा पुग्ने गरी वार्ता गर्ने बताउनुभयो । यसअघि हिजो पनि आन्दोनरत शिक्षकहरुसँग छलफल भएको थियो ।

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै अस्ति बुधवारदेखि शिक्षकहरु आन्दोलनमा छन् । 

शीर्ष समाचार

धेरै पढिएको