सारुक मृत्यु प्रकरणबारे बल्ल बोलिन् नम्रता : मौनतालाई कमजाेरी नठान्नु
काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले सारुक ताम्राकारको आत्महत्या प्रकरणका विषयमा लामो मौनतापछि सार्वजनिकरुपमा मुख खोलेकी छिन् । आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको उनले गुनासो गरेकी छन् । शारुकको आत्महत्याअघि नम्रतासँग झगडा भएको समाचारहरू बाहिर आएका थिए । केहीले अतिरञ्जना गर्दै नम्रतालाई नै आत्महत्याको प्रमुख कारकतत्वका रूपमा औल्याउन समेत खोजे । यद्यपि, शारुकको सुसाइड नोटमा भने नम्रतालाई आरोपित गरिएको छैन ।
फेसबुकमा लामो स्टाटस लेख्दै पहिलो पटक नम्रताले आफ्नो भनाइ राखेकी हुन् । उनले सारुक एक सम्भावना बोकेको, सहयोगी र मिलनसार व्यक्तिका रुपमा चित्रण गर्दै घटनाले आफूलाई अचम्भित तुल्याएको बताएकी छन् ।
यो घटनालाई लिएरु एकतर्फीरूपमा विभिन्न मिडियामार्फत समाचोर लेख्न लगाइएको तथा केही चलचित्रकर्मी र चलचित्रका पदाधिकारी नै पूर्वाग्रही किसिमले आफूविरुद्ध लागेको नम्रताको टिप्पणी छ ।
‘मेरो परिवार र हाम्रो कानूनी टीमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं, एकजना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला, सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनतालाई कमजोरी नठान्न अपील गर्दछु,’ उनले लेखेकी छन् ।
अनुसन्धानमा असर पर्ने भएकाले आफू अहिलेसम्म मिडियामा नबोलेको भन्दै उनले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको बताएकी छन् । ‘तर यहाँ एकतर्फी रूपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे, त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ,’ उनले भनेकी छन्, ‘आत्महत्या जस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित हुँदैन ।’
प्रतिकृया दिनुहोस्