June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

३९ स्थानीय तहमा अस्पतालका लागि नयाँ भवन निर्माण

कर्णाली- कर्णाली प्रदेशका विभिन्न ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँ–गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका दश वटै जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल भवन निर्माणको योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।

हरेक स्थानीय तहमा पाँचदेखि १५ श्य्याको अस्पताल बनाउने सरकारको नीति तथा कार्यक्रम अनुसार चालू आर्थिक वर्षमा कर्णालीमा ३९ वटा अस्पताल भवन निर्माण गरिनेछ । सुर्खेत–२ का सङ्घीय सांसद तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अस्पताल निर्माण योजनासम्बन्धी प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिए ।

सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौर, लेकबेशी नगरपालिकाको दशरथपुर स्वास्थ्य चौकी, चौकुने गाउँपालिकोको बिजौरा स्वास्थ्य चौकी, वीरेन्द्रनगरको लाटीकोइली स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिनेछ । पञ्चपुरी नगरपालिका र चिङ्गाड गाउँपालिकामा स्थानीय तहको आवश्यकता अनुसार अस्पताल भवन निर्माण गरिनेछ ।

मुगुमा सोरु र मुगुमकार्मारोङ गाउँपालिका, जाजरकोटमा छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका, हुम्लामा सर्केगाड, अदानचुली, नाम्खा र ताजाकोट, डोल्पामा त्रिपुरासुन्दरी, डोल्पोबुद्ध र मुड्केचुला गाउँपालिकामा अस्पतालका भवन बन्नेछन् ।

त्यस्तै, जुम्लामा तिला नगरपालिका र कनकासुन्दरी गाउँपालिका, कालीकोटमा रास्कोट नगरपालिका, सल्यानमा दार्मा, कपुरकोट, कुमाख, सिद्धकुमाख, कालीमाटी गाउँपालिका र बनगाडकुपिन्डे नगरपालिका, रुकुमपश्चिममा सानीभेरी गाउँपालिका, आठबीसकोट नगरपालिका, दैलेखमा भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिकामा अस्पताल भवन निर्माण हुनेछन् ।

शीर्ष समाचार

धेरै पढिएको