पक्राउ पर्दै गर्दा कांग्रेस सांसद शर्माले भने, ‘आईएम ह्याप्पी, डन्ट वरी’
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज (बिहीबार) कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ । प्रहरीले सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा पक्राउ गरेको हो ।
शर्माको प्रविणता प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली रहेको आरोप छ । उनले भारतबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । यसअघि पनि उनको एमबीबीएसको प्रमाणपत्रमाथि प्रश्न उठेको थियो । शर्माले पछिल्ला दिनहरूमा एक क्वीन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको भन्दै सार्वजनिक रुपमा कडा आलोचना गर्दै आएका थिए । यता शर्माले आरोप लगाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले भने बीमाको भुक्तानी नमिलाई दिएकाले शर्माले जेपायो, त्यही बोलेको बताएका थिए ।
मंगलबार पक्राउ परेपछि शर्माले संक्षिप्त प्रतिक्रिया दिँदै उत्तर कोरियाली शासनशैलीको झल्को दिने गरी आफूलाई गिरफ्तार गरिएको बताएका छन् । शर्माले भनेका छन्, ‘उत्तर कोरियाको राज्य सत्ताद्वारा सुनिल शर्मा गिरफ्तार, आईएम ह्याप्पी । डन्ट वरी ।’ बिहीबार सीआईबीले पक्राउ गर्नुअघि उनले आफूलाई उत्तर कोरियाको राज्य सत्ताले पक्राउ गरेको भन्दै दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ ।
प्रतिकृया दिनुहोस्