धमाधम आइसोलेसन बनाउँदै झापाका स्थानीय सरकार
झापा – कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि झापाका स्थानीय सरकार आइसोलेसन निर्माणमा जुटेका छन्।
संक्रमित उपचारका लागि व्यवस्था गरिएका अस्पतालमा संक्रमितले बेड पाउन छाडेपछि स्थानीय सरकार आइसोलेसन आफैं सञ्चालन गर्ने केन्द्रित भएको छ। समुदाय स्तरमा समेत कोरोना फैलिन सुरु गरेको झापाको कमल गाउँपालिकाले ५० शय्याको आइसोलेन निर्माण सुरु गरेको छ। हालसम्म एक विद्यालयमा क्वारेन्टाइन सञ्चालन गर्दै आएको गाउँपालिकाले सशस्त्र प्रहरीको जग्गामा आइसोलेसन निर्माण शुरु गरेको हो। गाउँपालिका अध्यक्ष मेनुका काफ्लेका अनुसार अस्पतालहरु संक्रमितले भरिँदै गएपछि उपचार पाउन कठिन हुने भएकाले गाउँपालिकालेनै आइसोलेसन निर्माण शुरु गरेको हो।
भदौभित्र ५० शय्याको आइसोलेसन सञ्चालनमा आउने र त्यहाँ स्वास्थ्यकर्मी र उपचारको व्यवस्था पनि रहने जनाइएको छ। पहिलो पटक समुदाय स्तरमा एक वृद्धलाई संक्रमण देखिएपछि हाल क्वारेन्टाइनबाहिरका व्यक्तिलाई पनि संक्रमण देखिने क्रम बढेको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङका अनुसार आइतबार थप तीन जना समुदायका व्यक्तिमा संक्रमण पुष्टि भएको छ। कन्ट्याक ट्रेसिङ गर्दा बृद्धका आफन्त र दुई जना व्यवसायीमा संक्रमण देखिएको हो।
विद्युत् प्राधिकरणका एक कर्मचारीसहित हालसम्म कमलमा आठ जनामा संक्रमण भईसकेको छ। ५२७ जनाको पिसिआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन्। संक्रमण फैलिएपछि गाउँपालिकाले निषेधाज्ञा लागु गरेको छ। स्वास्थ्य चौकीनै आइसोलेसन गौरादह नगरपालिकाले भने वडा नम्बर ७ जुरोपानीमा रहेको स्वास्थ्य चौकीलाई आइसोलेसनको रुपमा प्रयोगमा ल्याएको छ। कोभिड अस्पतालमा बेड उपलब्ध नभइञ्जेलसम्म उक्त आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र अस्पतालमा ठाउँ भएपछि पठाउने गरिएको गाउँपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए।
कतिपय स्थानीय तहले आफ्ना आइसोलेसन नुहँदा र अस्पतालमा समेत ठाउँ नपाउँदा घरैलाई आइसोलेसनको रुपमा प्रयोग गर्न दिने गरेका छन्। तर, गौरादहमा होम आइसोलनमा बस्न नदिएको र स्वास्थ्य चौकीलाई नै आइसोलेसन बनाइएको भण्डारीको भनाइ छ। नगरपालिकाले ३० जना क्षमताको आइसोलेसन सञ्चालनमा रहेको र संक्रमित भेटिने क्रम बढेसँगै नयाँ स्थानमा पनि आइसोलेसन सञ्चालनमा ल्याइने प्रवक्ता भण्डारीले बताए।
दमकमा सुरसार दमक नगरपालिकाले पनि आफ्नै आइसोलेन निर्माण सुरु गरेको छ। भुटानी शरणार्थीहरुको सहायताका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगले निर्माण गरेको संरचनालाई आइसोलेसनको रुपमा उपयोग गर्न लागिएको नगरपालिकाले जनाएको छ। यस्तै, आम्दा अस्पतालको होस्टललाई समेत आइसोलेसनको रुपमा तयार पारिएको छ। दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार कोरोना संक्रमितलाई अस्पतालमा शय्या अभावमा उपचार समस्या नहोस् भनेर नगरले २४सै घण्टा स्वास्थ्यकर्मी समेत रहने आइसोलेसन निर्माण थालेको हो। आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीको अभाव पूर्तीका लागि नगरका निजी अस्पतालहरुसँग पनि समन्वय गरिएको छ। दमकमा समुदाय स्तरमा कोरोना फैलिएपछि आठ दिनदेखि निषेधाज्ञा जारी छ। अघिल्लो शुक्रबार रातिदेखि पहिलो पटक एक साताका लागि निषेधाज्ञा गरिएको थियो।
तर, संक्रमित भेटिने क्रम नरोकिएपछि शनिबार पुनः एक साताका लागि थपिएको छ।
प्रतिकृया दिनुहोस्