ललितपुरमा ऊर्जा बचत अभियान शुरु
ललितपुर – दक्षिण ललितपुर भेगका जनतालाई ध्यानमा राखी सञ्चालन गरिएको ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड’ ले आफ्ना उपभोक्ता र शेयर सदस्यका लागि ऊर्जा बचत अभियान शुरु गरेको छ ।
संस्थाले विद्युत् महसुल भुक्तानीमा सहजीकरणका लागि उक्त अभियान सञ्चालन गरेको हो । यसले ऊर्जाको अधिकतम उपयोगद्वारा प्रविधियुक्त उद्यम व्यवसायको प्रवद्र्धन गर्दै उपभोक्ताको आर्थिक विकासमा टेवा पुरुयाउन सहयोग गर्ने संस्थाका अध्यक्ष गोविन्द बजगाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस संस्थाले मुलुकमै पहिलो पटक सहकारीको नमूना बनी सामुदायिक विद्युतीकरण अभियान चलाएर ललितपुरका विकट बस्तीहरुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवाको पहुँच पु¥याएको छ ।
” विसं २०५४ देखि संस्था विद्युतीय अभियान शुरु गरी २०५७ सालमा विधिवत् रुपमा दर्ता भएर २०६१ साल भदौ २ गते साविकको देवीचौर गाविसमा केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न सफल भएको बजगाईँले जानकारी गराउनुभयो । सो संस्थाले समाजमा उद्यमशीलताको विकास गर्दै ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सिर्जना, विद्युत् महसुल भुक्तानीका लागि अग्रिम बचत गराउन सहयोग, न्यून आयस्तर भएका र ऊर्जामा आधारित उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न चाहने उपभोक्तालाई ऋण सहयोगका साथै विद्युतीय प्रविधि खरीदका लागि बचत रकमको उपयोग गराउन मद्दत गर्छ । उक्त संस्थाले दक्षिण ललितपुरका करीब छ हजार ५०० घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पुरुयाएकामा अब लगभग एक हजार घरधुरीमा मिटर जडान गर्न बाँकी छ ।
संस्थाले हालसम्म ललितपुरका तीन गाउँपालिका र गोदावरी नगरपालिकाको देवीचौरमा एक सयभन्दा बढी ट्रान्सफर्मर, १७८ किलोमिटर एचटी र करीब ४६० किलोमिटरमा एलटी लाइन जडानसमेत गरेको छ । लगनखेलस्थित सबस्टेशनदेखि चापागाउँ फिडर हुँदै दक्षिण ललितपुरका सबै क्षेत्रमा लाइन गएकाले चापागाउँ फिडर जीर्ण र लोड बढी भएर लाइन ट्रपिङको समस्या बढी हुने गरेको छ । यसैगरी कान्ति राजमार्गमा समयसमयमा पहिरो जाँदा सडकका साथै विद्युत् आपूर्तिमा पटकपटक बाधा पुगेको बजगाईँले जानकारी दिनुभयो । संस्थाले समय समयमा विद्युतीय समस्या अन्त्य गरेर दीर्घकालीन समाधानका लागि उन्यूचौरमा सबस्टेशन निर्माणको काम अघि बढाउने भएको छ ।
उक्त स्टेशनले काम गर्न थालेपछि दक्षिण भेगको विद्युत् आपूर्तिमा थप सहजता र गुणस्तरीयता कायम हुनाका साथै उद्योगधन्दा सञ्चालनमा समेत उपयोगी हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस्