September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

स्कटल्यान्डविरूद्धको अभ्यास खेलमा नेपाल १३५ रनमै अलआउट

आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअघि स्कटल्यान्डविरूद्धको अभ्यास खेलमा नेपाल १३५ रनमै अलआउट भएको छ। 

दक्षिण अफ्रिकामा टस हारेर पहिले  ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा १३५ रनमा अलआउट भयो।

नेपालका ओपनरद्वय कुशल भुर्तेल १६ रन र आसिफ शेख २८ रनमा आउट भए। भीम सार्की ८ रन, ज्ञानेन्द्र मल्ल ७ रन र कप्तान रोहित पौडेल ० मा आउट भए। 

कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३७ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए। 

आरिफ शेख ५ रन, गुल्शन झा ५ रन र सोमपाल कामी ३ रनमा आउट हुँदा करण केसी ४* रन बनाए।

बलिङमा स्कटल्यान्डका बी म्याकमुलेन र  जे जर्भिसले ३-३ विकेट लिए।

यसपछि नेपालले नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ।

जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न नेपाली टिम एक सातादेखि दक्षिण अफ्रिकामा छ।

नेपाली टिम प्रतियोगिताका लागि चार दिनपछि दक्षिण अफ्रिकाबाटै जिम्बावे पुग्नेछ। जिम्बावे पुगेपछि नेपालले ओमान र युएईसँग वार्मअप खेल खेल्नेछ।

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। 

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। 

नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्। 

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

विश्वकप छनोटका लागि नेपाली टिम

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो।

शीर्ष समाचार

धेरै पढिएको