‘भारतीय कर्मचारीसँग भेट गरेर प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक र पदीय मर्यादाको उल्लंघन गरे’
काठमाडौं – नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमाथि प्रश्न गरेका छन् ।
भ्रमणको पहिलो दिन बुधवार भारतीय कर्मचारीसँग प्रचण्डको भेटवार्ता भएको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले प्रश्न गरेका हुन् । नेता रावलले भारतीय कर्मचारीसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गरेको दाबी गरे ।
‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड समकक्षी प्रधानमन्त्रीसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसँग?’, नेता रावलले ट्विटरमार्फत भनेका छन् ।
चार दिने भ्रमणको क्रममा बुधबार भारतको राजधानी नयाँ दिल्लीमा पुगेका प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले भेट गरेका थिए ।
प्रतिकृया दिनुहोस्