प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति प्रक्रिया बढ्यो अघि, १० दिनभित्र उजुरी आह्वान
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रकिया अघि बढेको छ । संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकपछि सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरिएको हो ।
बैठकमा कार्कीको व्यक्तिगत विवरण समेत समिति सदस्यहरूलाई प्रदान गरिएको थियो । सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यममा समेत प्रकाशन गरिनेछ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ ।
उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ । नाम बिना आएका उजुरीलाई प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ । यस्तै, सचिवालयबाट प्रस्ताव गरिएको संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को मस्यौदालाई परिमार्जनसहित पारित गरिएको छ ।
गएको वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकबाट कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो । सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते सोको जानकारी संसद् सचिवालयलाई गराइएको थियो । कार्की झण्डै १५ महिनादेखि सर्वोच्चमा कामु प्रधानन्यायाधीशका रूपमा कार्यरत छन् ।
प्रतिकृया दिनुहोस्