दसौँ राष्ट्रिय खेलकुद : संघीय सरकारको व्यवहारमा पनि हेपिएको कर्णाली
काठमाडौं – देशभित्र हुने सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रतियोगिता हो, ‘वृहत् राष्ट्रिय खेलकुद ।’ वृहत् राष्ट्रिय खेलकुदका १०औँ संस्करण कर्णाली प्रदेशमा आयोजना हुने भनिएको छ । पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १०औँ संस्करण आयोजना गर्ने जिम्मेवारीसहित कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको थियो ।
हालसम्म वृहत् राष्ट्रिय खेलकुदको ९ वटा संस्करण सम्पन्न भएका छन् । तर, विकास, समृद्धि र पूर्वाधारमा निकै पछि परेको कर्णाली प्रदेशमा भने पहिलो पटक वृहत् राष्ट्रिय खेलकुद आयोजना हुन लागेको हो । १०औँ राष्ट्रिय खेलकुदका लागि २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्मको मिति निर्धारण गरिएको छ ।
यस हिसाबले अब राष्ट्रिय खेलकुदको १०औँ संस्करण सुरु हुन करिब डेढ वर्षमात्र समय बाँकी छ । तयारीका हिसाबले राष्ट्रिय खेलकुदजस्तो वृहत् प्रतियोगिताका लागि यो समय निकै कम हो । देशभित्रको खेलकुदलाई चलायमान बनाउन र खेलाडी उत्पादनका दृष्टिले सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता मानिन्छ, वृहत् राष्ट्रिय खेलकुदलाई ।
यतिमात्र होइन, वृहत् राष्ट्रिय खेलकुदलाई भौतिक पूर्वाधार निर्माणको हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । वृहत् राष्ट्रिय खेलकुदका नाममा सम्बन्धित प्रदेशमा पूर्वाधारहरू निर्माण हुने गर्छ । त्यसैले यो प्रतियोगिता प्रत्येक २ वर्षमा छुट्टाछुट्टै प्रदेश (विगतमा विकास क्षेत्रमा)मा आयोजना गरिँदै आएको छ ।
पक्कै पनि कर्णाली प्रदेशमा खेलकुदका भौतिक पूर्वाधारहरू निकै कम छन् । न आधुनिक रंगशाला छ, न त सुविधा सम्पन्न कभर्डहल नै । यस्तो अवस्थामा कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुदजस्तो वृहत् प्रतियोगिता आयोजना गर्नु आफैमा चुनौतीपूर्ण छ ।
यो चुनौती कर्णाली प्रदेशमाथि मात्र होइन, संघीय सरकारमाथि पनि उत्तिकै छ । देशभित्र हुने सबैभन्दा ठूलो प्रतियोगिता भएकाले यसप्रति संघीय सरकार अझ बढी संवेदनशील हुनुपर्छ । तर, विडम्बना सरकार भने यसप्रति खासै गम्भीर देखिएको छैन ।
प्रतिकृया दिनुहोस्