November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

केन्यामा २०० भन्दा बढीले गरे सामूहिक ‘आत्महत्या’

केन्याको क्रिस्चियन डूम्सडे कल्ट (प्रलयको दिनमा विश्वास राख्ने सम्प्रदाय) मा सामूहिक ‘आत्महत्या’ को मामिलामा मृत्यु हुनेको आँकडा २०० पार भएको छ । प्रहरीले हालसम्म २०१ को शव निकालेको छ ।

जहाँ यो घटना भयो, त्यहाँ ६०० भन्दा बढी हराइरहेको बताइएको छ । यस सम्प्रदायसँग सम्बद्ध व्यक्तिहरूका अनुसार सबैभन्दा पहिला बालबालिकालाई भोक भोकै मारिएको छ । शनिवार प्रहरीले थप २२ शव बरामद गरेको छ ।

पत्रकारहरूसँग कुरा गर्दै स्थानीय आयुक्त रोडाह ओन्यान्चाले भने, ‘हाम्रो फरेन्सिक टोलीले आज २२ वटा शव निकालेको छ तर हामीले कसैलाई पनि जीवित फेला पारेका छैनौँ ।’

केन्याको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित शाकाहोला जङ्गलमा सामूहिक आत्महत्याको यो घटना भएको हो । प्रहरीले अहिले पनि यहाँ खोजी कार्य जारी राखेको छ ।

यस सम्प्रदायसँग सम्बन्धित एक डेपुटी पास्टरले लन्डनको टाइम्स पत्रिकालाई यो सामूहिक आत्महत्याको धेरै चरणहरूमा योजना बनाएको बताएका छन् । यी पास्टरले अहिले प्रहरी अनुसन्धानमा सहयोग गरिरहेका छन् ।

पास्टरका अनुसार सबैभन्दा पहिला बालबालिकालाई भोको राखेर मारियो । त्यसपछि महिलाले आत्महत्या गरे अनि पुरुषले ज्यान दिए । अन्त्यमा सम्प्रदायका नेता पास्टर पल म्याकेन्जीको परिवारले आत्महत्या गरे ।

पल म्याकेन्जी हाल प्रहरीको हिरासतमा छन् । प्रहरीले केही शवका पोस्टमार्टम गरेको छ । मारिएका मानिसमा भोक, सास फेर्न नसकेको र कुटिएको सङ्केत भेटिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको