पूर्व राजा र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भयो भेटवार्ता
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा छन् । पूर्व राजा नेपालगंज हुंदै भारतको लखनऊ पुगेका हुन् । हिन्दुवादी नेता समेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणमा पूर्व राजा भारत भ्रमणमा गएका हुन् ।
उनको टोलीमा उनका छोरा पारस शाह बाहेक राजपरिवारका सवै सदस्य सहभागी छन् । भ्रमण दलमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा रहेकी छन् । नेपालको पूर्व राजपरिवारलाई मुख्यमन्त्री योगीले श्री ५ महाराजधिराजकै हैसियतमा बोलाएको दावी गरिएको छ ।
भाजपाका प्रभावशाली नेता समेत रहेका आदित्यनाथले नेपालमा हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएका छन् । उनकै निमन्त्रणामा पूर्व राजालाई भारत बोलाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यो उनको दोस्रो भारत भ्रमण हो ।
पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसंग पूर्वराजाको भेट भएको जानकारी दिएका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै उत्तर प्रदेशको लखनउमा सौहार्दपूर्ण वातावरणमा भेटवार्ता भएको जनाएका छन् ।
पूर्व राजा ज्ञानेन्द्र पछिल्लो समय नागरिक अभिनन्दनका नाममा देश दौडाहामा लागेका छन् । उनीसंगै राजेन्द्र लिंगदेन नेतृत्वको राप्रपा समेत हिन्दुराज्यसहित राजसंस्था फर्काउने अभियानमा छ ।
पूर्व राजाले पछिल्लो समय राजनीतिक वक्तव्यवाजी समेत सुरु गरेका छन् । उनले राजनीतिक दलहरुले वेथिति गरेको भन्दै अव समय आएको प्रतिक्रिया यसअघि दिएका थिए ।
प्रतिकृया दिनुहोस्