नेपाल–यूएईको खेलमा बर्षा वाधक : आज हुन नसके भोलि यसरी हुनेछ छिनोफानो
काठमाडौँ । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल वर्षा वाधक बनेको छ । बर्षाका कारण अहिले खेल रोकिएको छ ।
कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरिरहेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको हो । यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाउँदा पनि खेल वर्षाका कारण रोकिएको थियो । त्यसपछि सुरु भएको खेल फेरि वर्षाका कारण रोकिएको हो ।

आज दिउँसो ३ बजेसम्म नै पानी पर्ने सम्भावना भएकाले आज खेल सुरु हुने सम्भावना कम छ । तर दिउँसो ३ बजेसम्म पानी रोकिएर २० ओभरसम्मको खेल सुरु हुन सक्ने स्थितिमा भने आजै खेल हुनेछ । आज खेल सुरु हुन नसकेमा भोलि मङ्गलवार ‘रिजर्भ डे’ मा यूएईले यही अवस्था (२७ ओभर ३ बल– १ सय ६ रन) बाट सुरु हुनेछ ।
भोलिको खेल पनि वर्षाले रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा विजेताको टुङ्गो लाग्नेछ । एकदिवसीय वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने यूएई १९ औँ स्थानमा छ । यस्तो अवस्थामा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने छ ।
प्रतिकृया दिनुहोस्