December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

गण्डकी र लुम्बिनीका नव नियुक्त मुख्यमन्त्रीले शपथ लिँदै, आजै सानो आकारको मन्त्रिमण्डल

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा हिजो (बिहीबार) नियुक्त भएका मुख्यमन्त्रीहरुले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

गण्डकीका नव नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताको शपथ लिने भएका हुन् । आज (शुक्रबार) दिउँसो साँढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री पाण्डेलाई शपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे बिहीबार कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रबीच गण्डकीमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति अनुसार पहिलो चरणमा कांग्रेसका पाण्डे मुख्यमन्त्री बनेका हुन् । नव नियुक्त मुख्यमन्त्री पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ गठबन्धनको सरकार बनेको हो ।

यस्तै लुम्बिनी प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

मुख्यमन्त्री चौधरीले प्रदेश प्रमुखको कार्यालयमा बिहान ११ बजे प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता चौधरी बिहीबार नेकपा (माओवादी केन्द्र) सहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

नव नियुक्त मुख्यमन्त्री चौधरीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ । नेकपा (एमाले) का लिला गिरी नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि आह्वान गरेका थिए ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका चार-चार जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन-तीन जना, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक÷एक र स्वतन्त्र एक जना सदस्य रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको