स्वर्णिमलाई बधाई दिँदै गोविन्दले भने, ‘रचनात्मक सहयोग र खबरदारीपूर्ण साथ रहिरहने छ’
तनहुँ । तनहुँ क्षेत्र नम्बर–१ को उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई–शुभकामना दिएका छन् । उनले विकासको अपेक्षा गरेर आफूलाई मत दिएका मतदाताप्रतिको अभिभारा पनि डा. वाग्लेमाथि आएको बताएका छन् ।
आज (मंगलबार) बिहान सामाजिक सञ्जालमार्फत् डा. वाग्लेलाई बधाई दिँदै भट्टराईले लेखेका छन्, ‘मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नु भयो । तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ ।’
तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९१८ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी भट्टराईले २० हजार १२२ मत पाएका छन् । भट्टराईले मतदाताको विकासका चाहना पूरा गर्ने अभियानमा स्वर्णिमले चाहेमा रचनात्मक सहयोग र खबरदारीपूर्ण साथ रहने बताएका छन् ।
‘मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहने छु’ भट्टराईले लेखेका छन्, ‘अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहने छ ।’ उनले स्वर्णिमलाई राजनीतिक यात्रामा अब्बल सावित हुन शुभकामना पनि दिएका छन् ।
प्रतिकृया दिनुहोस्