काठमाडौं महानगरलाई सर्वोच्चको आदेश : तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउनू
काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौँ महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।
आज (शुक्रवार) न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहरदरबारसहित राष्ट्रपतिको कार्यालय शीतल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाएर विसर्जन गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडैलले जानकारी दिए ।
यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सङ्घीय सरकारले आफूहरूसँग समन्वय नगरेको भन्दै गएको चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएका थिए । मेयरको यो निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाडौँ महानगरपालिकासहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले फोहोरमैला व्यवस्थापन ऐन २०६८ र नेपालको संविधानमा भएको संवैधानिक प्रावधानअनुसार सरसफाइ गर्नुपर्ने अधिकार र दायित्व पालिकामा रहेको उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस्