March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

मन्त्री मोदी : पूर्वाग्रह राखेर कसैको सरुवा गर्दिनँ 

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सबैको एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

“तपाईहरु आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाई हाम्रो एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु हो” उनले भने ।

मन्त्री मोदीले आफूले सबैलाई न्यायको आँखाले हेर्ने समेत बताए । उनले भने, “मेरा लागि सबै बराबर हो, कसैप्रति मेरो आग्रह र पूर्वाग्रह रहँदैन, सबैलाई म न्यायको आँखाले हेर्छु ।”

मन्त्री मोदीले कर्मचारीहरु जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेकाले पहिलो जनताको कामलाई प्राथमिकतामा राख्न समेत निर्देशन दिए ।

त्यस्तै मन्त्री मोदीले पूर्वाग्रह भावना राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने समेत बताए । उनले भने, “निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छभन्दा केही मान्छेहरुमा छटपटि भएको छ” उनले भने, “वृद्धि विकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन, तर मेरो प्रष्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ ।”

निजामती प्रशासनभित्रको बेथितिलाई सुधार गर्ने घर नै सामान्य प्रशासन मन्त्रालय भएको भन्दै मन्त्री मोदीले भने, “केही सुधार त गर्नैपर्छ, सही सुझाव र सल्लाहका लागि मेरो ढोका सदैव खुला छ ।”

शीर्ष समाचार

धेरै पढिएको