साग खेलेका तीन पाकिस्तानी खेलाडी प्रतिबन्धित

काठमाडौं – गत मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का तीन पदकधारी पाकिस्तानी खेलाडीलाई चार वर्षको प्रतिबन्ध गरिएको छ।

डोपिङ परीक्षणमा असफल उनीहरूलाई दक्षिण एसियाली ओलम्पिक काउन्सिलको एन्टी डोपिङ नियमअनुसार चार वर्षको प्रतिबन्ध गरिएको हो।

प्रतिबन्धमा पर्नेमा एथलेटिक्सको एक सय मिटर हडल्सका स्वर्ण विजेता मोहम्मद नइम, एथलेटिक्सकै चार सय मिटर हडल्सका स्वर्ण विजेता मेहबब अली र सय मिटर दौडका कांस्य विजेता समी उल्लाह छन्। उनीहरू तीनैजना डोपिङ परीक्षणमा असफल भएपछि प्रतिबन्धमा परेका हुन्।

खेललगत्तै उनीहरूबाट संकलन गरिएको स्याम्पल कतारको राजधानी दोहास्थित एन्टी डोपिङ ल्याबमा परीक्षणका लागि पठाइएको थियो। परीक्षणमा तीन पाकिस्तानी खेलाडी असफल देखिएपछि विश्व एन्टी डोपिङको नियमअनुसार उनीहरूलाई पुनः स्याम्पल टेस्टको व्यवस्था मिलाइएको थियो; जसमा दुई जना खेलाडी मोहम्मद नइम र मेहबब अलीले मात्र बी स्याम्पल टेस्ट गराएका थिए।

दोस्रो पटक गरिएको परीक्षणमा समेत उनीहरूको रिपोर्ट पोजेटिभ आएपछि चार वर्ष प्रतिबन्धको सजाय गरिएको हो। डोपिङ रिपोर्टलाई सबै पाकिस्तानी खेलाडीले स्वीकार गरेको बुधबार नेपाल ओलम्पिक कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। डोपिङ परीक्षणमा असफल तीनैजना पाकिस्तानी खेलाडीको पदक खोसिनुका साथै चार वर्षको प्रतिबन्ध लगाउने निर्णय गरिएको हो।

मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन भएको १३औं सागमा पाकिस्तानले चौथो स्थान हात पारेको थियो। पाकिस्तानले ३२ स्वर्ण, ४१ रजत र ५९ कांस्य गरी एक सय ३२ पदक जितेको थियो। पाकिस्तान १४औं सागको आयोजक राष्ट्रसमेत हो।