September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

सिन्धुली – सिन्धुली र काभ्रेमा कार्यरत ६ प्रहरी कर्मचारी घुस लिएको अभियोगमा निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन्। सेवाग्राहीसँग रकम लिँदै गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो। बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग घुस रकम लिँदै गरेका अवस्थामा उनीहरूलाई २१ साउनमा नियन्त्रणमा लिएको थियो।

प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार  जिल्ला प्रहरी कार्यालयका पाँच र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत एक गरी ६  प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ।

उनीहरुलाई सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकामा  थप छानबिन गर्न हाललाईनिलम्बन गरिएको सूचना अधिकारी थापाले बताए। निलम्बन पर्नेमा दुई प्रहरी हवल्दार र चारजना  प्रहरी जवान छन्।

निलम्बन गरिएकाहरूमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र सोअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ र  डोरबहादुर कार्की तथा प्रहरी जवान कुमारबाबु सिंह, धीरेन्द्र साह र  रामकुमार थापा छन्। यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको  इलाका प्रहरी कार्यालय मङ्गलटारमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापालाई निलम्बन गरिएको छ।

निलम्बित प्रहरी कर्मचारीका सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतका संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको