February 7, 2023, Tuesday
२०७९ माघ २४, मंगलवार
KN hd tv

राजन भट्टराई : पराजित भए पनि देश र जनताको हितमा सदा समर्पित रहन्छु

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर–४ मा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले निर्वाचनमा लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको जय–पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताएका छन् ।

उनले संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंक गणितमा फरक परे पनि राजनीतिको अथक, लामो र निरन्तरको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने बताएका छन् । यही मान्यताका साथ आफू राजनीतिमा सक्रिय रहने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत जारी मन्तव्यमा उनले भनेका छन्, ‘मेरो राजनीतिक सक्रियता आगामी दिनमा पनि यथावत् रहने छ । म पूर्ववत् मतदातासँगको साक्षात्कारमा रहिरहने छु । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु ।’

उनले काठमाडौँ क्षेत्र नम्बर ४ मा एमाले विजयी हुन नसके पनि देशका अन्य कतिपय ठाउँमा विजय हासिल गरिरहेको बताएका छन् । यस्तै, समानुपातिक मतमा एमाले यस पटक पनि सर्वाधिक अग्रस्थानमा रहने दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘विभिन्न शक्ति केन्द्रको एमालेविरोधी गठबन्धनको अवस्थामा पनि हाम्रो पार्टीलाई नेपाली जनताले भरपर्दो साथ सहयोग दिएको यथार्थ हाम्रासामु छर्लङ्गै छ । यसस्थितिमा पार्टीका आम कार्यकर्तालाई धैर्य, निष्ठा र भरोसाका साथ सक्रिय रहन समेत हार्दिक आग्रह गर्दछु ।’ उनले काठमाडौं–४ बाट विजयी कांग्रेसका गगन थापालाई बधाई दिएका छन् । यस्तै, मतदाता, निर्वाचन परिचालन कमिटीका सदस्य सबैलाई धन्यबाद दिएका छन् ।

press

शीर्ष समाचार

धेरै पढिएको