कालीकोट पहिरोः ३ सय ५८ घर भत्किए, १८ को मृत्यु
कालिकोट – बाढीपहिरोका कारण यस वर्ष कालीकोटमा ३ सय ५८ घर भत्किएका छन् । पहिरोले १८ को मृत्यु भएको छ । ७ जना अझै बेपत्ता छन् । सबैभन्दा बढी नरहरिनाथ गाउँपालिकामा क्षती पुगेको छ ।
नरहरीनाथ गाउँपालिकामा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । नरहरीनाथमा मात्र ५३ घर भत्किएको र ४ सय ९४ परिवारका १ हजार ९ सय १९ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंका अनुसार रास्कोट नगरपालिकामा बाढीपहिरोका कारण २ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । ३० घर भत्किएकोमा १६ घरका ८९ जना विस्थापित भएको सहायक प्रजिअ गुराँगाइले बताउनु भयो । पचालझरना गाउँपालिकाको खार्दुगाउँमा १ सय २२ घर पहिरोको उच्च जोखिममा छन् ।
सदरमुकाम रहेको खाँडाचक्रमा बाढीले एक जना र सान्नीत्रिवेणीमा २ जनाको मृत्यु भएको छ । महाबैमा बाढी पहिरोबाट २ जना बालबालिको मृत्यु भएको छ । महाबैमा ५ घर भत्किएको र १२ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पहिरोले मानवीय क्षति नभएको शुभकालिकामा ९ परिवारका १२ जना विस्थापित भएका छन् । एक जनाले ज्यान गुमाएको पलातामा ८ घर भत्किएका छन् । नरहरीनाथ गाउँपालिकाको वडा नं. ४ र ५ का सबै घरधुरी उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताउनु भयो । घर–खेतपाखो जताततै चिरैचिरा परेको छ, स्कुल समेत भत्कीएका छन् अध्यक्ष बिष्टले भन्नु भयो । कालिकोटमा बाढीपहिरोले जिल्लाभर झन्डै १५ करोड रुपैयाँ बराबरको क्षति भयको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो ।
बिपद्का बेला समाचार संकलन गर्न निकै कठिनाई भएकाले बिपदका बेला सत्य तथ्य सूचना संकलन गर्न बिपद् सूचना केन्द्र स्थापना गर्न पत्रकारहरुले माग गरेका छन् । बाढी पहिरोका कारण जिल्ला भर ४ सय भन्दा बढी घरपरिवार बिस्तापीत भएका छन् ।
प्रतिकृया दिनुहोस्