January 27, 2023, Friday
२०७९ माघ १४, शनिबार
KN hd tv

महासचिव पोखरेल : गठबन्धन सरकार नेपाली जनताको लागि अभिश्राप

विराटनगर– नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान पाँचदलीय गठबन्धनको सरकार नेपाली जनताको लागि अभिशाप भएको टिप्पणी गरेका छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा महासचिव पोखरेलले यो सरकार लामो समयसम्म रहँदा देशलाई श्रीलंकाको बाटोतर्फ लैजाने दाबी गरे।

‘यो सरकार स्वार्थका लागि मात्र बनेको हो, यो सरकार बन्दै गर्दा मुलुकको आर्थिक अवस्था वचतमा रहेको तर अहिले खर्बौ ऋणमा पुगेको छ’, उनले भने, ‘महंगी दोब्बरभन्दा बढी बृद्धि भएको छ। पूँजीगत खर्च लज्जास्पद छ। जसले गर्दा मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएको छ। बजेट निर्माणका क्रममा जे जस्ता हर्कत भएका कुराहरू बाहिर आए, त्यो एकप्रकारको राष्ट्रघात हो। यसले माफियातन्त्रलाई अझ भनौं दलाल नोकरशाही पुँजीवादलाई प्रश्रय गरेको देखिन्छ।’  

दुनियाँमा कही पनि गठबन्धनले समृद्धि नल्याएको भन्दै उनले विकासको लागि नीतिगत नेतृत्व चाहिने बताए। ‘नीतिगत नेतृत्व गर्नसक्ने तागत एमालेसँग मात्रै छ। कांग्रेसले त नीतिगत नेतृत्व नै गुमाइसकेको छ, गठबन्धन त स्वार्थका लागि मात्र बनेको हो’ उनले भने। 

उनले निर्वाचनको मिति घोषणा भइसकेकोले अब जनताले छिनोफानो गर्ने बताए। ‘वर्तमान सरकारका हरेक गतिविधि नेपाली जनताको लागि अभिशाप बनेका छन्, यसलाई जतिसक्दो चाँडो हटाउनुपर्छ। निर्वाचनको मिति घोषणा भएको छ, निर्वाचनबाटै जनताले छिनोफानो गर्छन्,’ महासचिव पोखरेलले भने। 
चुनाव घोषणा भएसँगै संसद्‍को भूमिका निष्कृय हुने भए पनि संकटको बेला काम लाग्छ भनेर जोगाएर राखेको बताए। 

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग राम्रो नियतले नलगाइएको भन्दै उनले यसको छिनोफानोमा सत्तापक्षको व्यवहार चरम लापरवाहीपूर्ण रहेको बताए।

‘फैसलाहरू स्वार्थमा आधारित, लेनदेनमा आधारित भयो भन्ने अर्थमा प्रधानन्यायाधीश माथि महाअभियोग लगाइयो। त्यो त सौदाबाजी हो। त्यसमा त दुईपक्ष हुन्छ’, महासचिव पोखरेलले भने,‘ त्यस अर्थमा दोषी एउटा मात्र हुँदैन। प्रधानमन्त्री निर्दोष हुने प्रधानन्यायाधीश मात्र दोषी हुने हुँदैन। एउटालाई दोषी देखाएर अर्को पानी माथिको ओभानो बन्ने गठबन्धनका नेताहरूको प्रयास गलत हो।’