विराटनगरमा सफारीबाट ६१ किलो गाँजा बरामद, चालक फरार

मोरङ – मोरङको विराटनगरमा प्रहरीले सीटी सफारीमा राखेर लैजाँदै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका-१४ जतुवाबाट लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो । प्रदेश-१ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार प्लाष्टिकमा प्याक गरी को २ ह ४६१० नम्बरको सिटी सफारीमा राखेर ओसारपसार गर्दै गरेको गाँजा बरामद गरिएको छ ।

सफारीमा राखेर गाँजा पश्चिमबाट पूर्वतर्फ लगिँदै गर्दा बिहान ११ बजेतिर बरामद गरिएको राईले जानकारी दिए । प्रहरीले सफारी पनि नियन्त्रणमा लिएको छ । प्रहरीलाई देख्नासाथ सफारीका चालक भने फरार भएको उनको भनाइ छ । उनले चालकको खोजी तीव्र पारिएको जानकारी दिए ।

सफारी कसको हो भन्ने खुल्न सकिरहेको छैन । गाँजा र सफारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेपालबाट गाँजा भारततर्फ लैजान लागिएको हुनसक्ने प्रहरीको अनुमान छ ।