March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित

काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। 

बिहीबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पास गरेको हो।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा ५ वटा दफामा संशोधन भएको थियो। त्यसमा दफा २ नेपाल प्रहरीले अनुसन्धान गर्ने विषयमा अध्यागमन सम्बन्धी कसुर रहेको थियो।

अध्यागमनको कार्य नेपाल प्रहरीबाट नै हुनुपर्ने गरी विधेयक पास गरिएको समितिकी सचिव बविता मिश्रले बताइन्। उनले काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत संघीय प्रहरीले गर्नेगरी विधेयक समितिबाट पास गरिएको जानकारी दिइन्। 

समिति सचिव मिश्रले नेपाल प्रहरीबाट सम्पादन हुने कामको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरु रहने बताइन्। 

उनले भनिन्, ‘दफा ४ मा १० क थप गर्ने भन्ने भन्ने प्रस्ताव ल्याइएको छ–दुईवटा। जसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्नेछ भन्ने र अर्को नेपाल प्रहरीबाट सम्पादन हुने कामको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरीअन्तर्गतका प्रहरी कार्यालयहरु रहनेछन्, भन्ने सन्दर्भमा यसमा यो दफा बमोजिमको कार्य सम्पादन गर्न प्रदेश प्रहरीसँग समन्वय गरिनेछ भन्ने संशोधन राखेर यसलाई पनि समितिबाट पास गरिएको छ।’

शीर्ष समाचार

धेरै पढिएको