March 19, 2024, Tuesday
२०८० चैत्र ६, मंगलवार
KN hd tv

त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नाबालकको कपडाको बटनभित्र लुकाएर ल्याइएको सुनसहित एक यात्रुलाई पक्राउ गरेको छ ।

सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं आएका सुमन दमाईको लगेज जाँच गर्ने क्रममा नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको ६० वटा सुनका रिङ फेला परेको हो । सुनको तौल करिब १२५ ग्राम रहेको छ ।

फेला पारेको सुन स्टिल बटनको भित्री भागमा फिट गरि राखिएको र झट्ट हेर्दा फलामको टुक्राजस्तै देखिने किसिमको रहेको छ । सुनसहित दमाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको भन्सार कार्यालयले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका दमाईले आफू भिजिट भिषामा दुबई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोशाकहरू नेपालसम्म पुर्‍याईदिन अनुरोध गरेको हुँदा ल्याइदिएको बताएका छन् ।

सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाईछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनावद्ध ढङ्गबाट बटनभित्र सुनलाई फिट गरि पठाइएको हुनसक्ने भन्सार कार्यालयले अनुमान गरेको छ । सुन तस्करीमा नियन्त्रमा रहेका यात्रु सुमनको संलग्नता छ वा अन्य कुनै व्यक्तिको पनि भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने कार्यालयले जनाएको छ ।

पक्राउ परेका यात्रुलाई भन्सार कार्यालयले थप अनुसन्धान अगाडि बढाएको छ । विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाई फकाई कुनै मालवस्तु (जस्तैः टर्चलाइट, आइरन, मिक्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटर आदि) आफ्ना आफन्तका लागि पुर्‍याई दिन भनी अनुरोध गर्ने र भन्सार चेकजाँचका क्रममा त्यस्ता मालवस्तु भित्र लुकाइछिपाई सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको फेला परी सम्बन्धित यात्रुले कानून बमोजिम कारबाही भोग्नु परेको अवस्था छ ।

भन्सार कार्यालयले अपरिचित व्यक्तिको सामानभित्र लुकाईछिपाई सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको छ वा छैन सुनिश्चित नभएसम्म नल्याउन अनुरोध गरेको छ । सुनको अवैध तस्कर गर्ने समूह वा व्यक्तिले नयाँ तरिका अपनाउने क्रम जारी रहेपछि भन्सार कार्यालयले पनि आयात हुने मालवस्तुको निरीक्षण गर्ने शैली तथा रणनीतिलाई परिस्कृत गर्नुको साथै कर्मचारीको प्राविधिक क्षमतालाई पनि विस्तार गर्दै गइरहेको जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको