July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

वीरगञ्ज महानगरमा गठबन्धनको जीत सुनिश्चित बन्दै

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहको जीत सुनिश्चित भएको छ । महानगरको जारी मत गणनामा अब गन्न बाँकी रहेको मतभन्दा एमालेका उम्मेदवार विजय सरावगी र जसपाका उम्मेदवार राजेशमानको मतान्तर कम भएकाले राजेशमानको जीत सुनिश्चित भएको हो ।

सोमबार बिहान साढे ७ बजेसम्म कुल खसेको ९३ हजार ७ सय ८२ मतमध्ये ७७ हजार ५ सय ७७ मत गणना भइसकेको छ । अब १६ हजार २ सय ५ मत मात्रै गन्न बाँकी छ । यो अवस्थामा राजेशमानले १८ हजार ७ सय ५८ मतको अग्रता लिइसकेका छन् । यसले अब महानगरको मेयरमा राजेशमानको जीत सुनिश्चित देखिएको हो ।

सोमबार बिहान साढे ७ बजेसम्म ७७ हजार ५ सय ७७ मत गणना हुँदा राजेशमानले ३८ हजार ४ सय ३७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सरावगीले भने १९ हजार ६ सय ७९ मत मात्रै ल्याएका छन् । तेश्रो स्थानमा रहेका राप्रपाका मेयर उम्मेदवार गिरिश गिरीले भने २ हजार ८ सय ५७ मत पाएका छन् ।

गन्न बाँकी रहेको मतभन्दा राजेशमानको मतान्तर बढी भएसँगै सामाजिक सन्जालमा राजेशमानका समर्थकहरुले जीतको बधाइ र शुभकामना दिन सुरु गरिसकेका छन् । यस्तै वीरगन्ज महानगरको उपमेयरमा पनि गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमको जीत पनि सुनिश्चित भएको छ ।

अब १६ हजार २ सय ५ मत मात्रै गन्न बाँकी रहँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार आलमले १८ हजार ३ सय ४७ मतको अग्रता लिइसकेका कारण उनको पनि जीत सुनिश्चित भएको हो । बिहान साढे ७ बजेसम्म ७७ हजार ५ सय ७७ मत गणना हुँदा उपमेयरमा आलमले २४ हजार ९ सय १५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोसपका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ६ हजार ५ सय ६८ मत मात्रै पाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको