दाङका माओवादी इन्चार्ज गौतमले गरे पार्टीबाट छोड्ने घोषणा
काठमाडौं– नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छोड्ने घोषणा गरेका छन्। उनले पत्रकार सम्मेलन गर्दै अब कुनै पनि राजनीतिक दलमा संलग्न नहुने घोषणा गरेका हुन्।
आफ्नो यो कदम षड्यन्त्रकारी र निश्चित केही मानिसहरुको सिन्डिकेट विरुद्ध भएको उनले दाबी गरेका छन्। ‘छोरी ,ज्वाइँ र भाइका निम्ति समग्र माओवादी आन्दोलन भुल्ने कामका लागि यो विद्रोह गरेको हुँ,’ उनले भने। उनले अहिले कुनै पार्टीमा नलाग्ने दाबीसमेत गरे।
कुन पार्टीमा जाने भन्ने निर्णय केही समयपछि मात्र हुने उनको दाबी छ। एमाले, राप्रपा र नेपाली कांग्रेस पार्टीसँग कुराकानी भए पनि तत्काल कुनै पनि दलमा संलग्न नहुने उनले बताए। पार्टीभित्र धेरै गुटबन्दी रहेको बताउँदै उनले आर्दश र स्वाभिमान जोगाउन माअोवादी केन्द्र छोड्ने निर्कषमा पुगेको बताए। एमाले र माओवादी एकीकृत भएको अवस्थामा पनि उनी नेकपाको दाङ जिल्ला इन्चार्ज थिए।
यो निर्णय गर्नुको कारण कतैको टिकट नपाउनु भने नरहेकाे उनले प्रष्ट पारे। पछि छोड्दा त्यही आरोप लाग्ने भएकाले अहिले नै अलग हुने निर्णय गरेको उनको दाबी छ।
आफू केही दिनदेखि माओवादीमा संलग्न हुने कि नहुने भन्ने दोधारमा रहेको बताउँदै उनले अब माओवादी छोड्नै पर्छ भन्ने निष्कर्षमा पुगेको बताए। उनले आफूले यसअघिका सबै जिम्मेवारीसमेत त्यागेको घोषणा गरेका छन्।
‘म स्वतन्त्र भएको घोषणा गर्न चाहान्छु,’ उनले भने, ‘म अहिले कुनै राजनीतिक दलसँग जोडिने निर्णय गरेको छैन।’
#राजनीति
प्रतिकृया दिनुहोस्