May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

सप्रनेको नवौँ वार्षिकोत्स शनिबार सम्पन्न

स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले आफ्नो नवौँ वार्षिकोत्सव शनिबार सम्पन्न गरेको छ । २०७० सालमा स्थापित स्थापना भएको प्रतिष्ठानले राजधानीको गीताञ्जली चोकस्थित कर्णाली होम्समा विभिन्न पुस्ताका स्रष्टाहरूलाई एउटै मञ्चमा आमन्त्रण गरेर वार्षिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रममा करिब २५ जना कवि, लेखक एवम् साहित्यिक स्रष्टाहरूले आ-आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रममा मञ्जु काँचुली तिवारी, अशेष मल्ल, विश्व विमोहन श्रेष्ठ, विप्लव प्रतीक, मोमिला जोशी, गीता कार्की, विमला तुम्खेवा, मानसाग्नि हरि, केशव सिग्देल, कोमल फुयाँल, बिना थिङ तामाङ, रञ्जना निरौला, विजयध्वज थापा, रसिक राज, रिमा केसी, यात्रीप्रकाश पाण्डे, सुस्मिता अर्याल, राजु झल्लु प्रसाद, सङ्गम संयोग, श्रीराम स्वधर्मले कविता वाचन गरेका थिए । सर्वनाम नाट्य समूहसँग आबद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक अशेष मल्लले स्रष्टा प्रतिष्ठान नेपालको मेहनत र निरन्तरता देख्दा गर्व लागेको बताए । “नवौँ वार्षिकोत्सव मात्र होइन ९०औँ वार्षिकोत्सव समेत भव्यसँग मनाउने छ”, उनले भने । कवि गीता कार्कीले अप्ठ्याराहरूका बाबजुद् पनि कडा मेहनत र सिर्जनात्मकर्ममा लागि पर्ने अध्यक्ष अमृता र संस्थालाई नवौँ वार्षिकोत्सवको शुभकामना दिन पाउँदा खुसी लागेको बताइन् । कविता वाचनको क्रममा मानसाग्नि हरिले हजुरबा -हजुरआमा, बा-आमा र छोराछोरी पुस्तालाई एउटै मञ्चमा आमन्त्रण गरेर प्रतिष्ठानले पुस्ता-पुस्तालाई जोड्ने कडीको रूपमा काम गरेको बताए । यसैगरी, कवि विप्लव प्रतिकले सप्रने सधैँ सप्रिँदै जाओस् भन्ने सदिच्छा व्यक्त गरे । नयाँ कविहरूको लागि अवसर प्राप्त गर्न गाह्रो हुने र सुरुमा आयोजकहरूले पत्याउन पनि गाह्रो भएको समस्या सुन्नमा आएको हुँदा आफूले त्यो स्पेस क्रियट गरेको बताउँछिन्, प्रतिष्ठानकी संस्थापक अध्यक्ष अमृता स्मृति । “स्रष्टा प्रतिष्ठान नेपाल कवि जन्मने ठाउँ हो । सामान्य लेख्न जान्ने तर, खारिने मौका नपाएका सर्जकहरू यस संस्थाको नियमित कार्यक्रममार्फत आफूलाई खाँरेर विशेष शृङ्खलामा वाचन गर्दै पछि देश-विदेशमा पुग्नेछन्, पुगेका छन्”, स्मृतिले बताइन् । संस्थाले नयाँलाई प्रोत्साहन र स्थापितलाई सम्मान गर्दै आइरहेको छ । विभिन्न पुस्ताका सिर्जना एउटै मञ्चमा उभ्भाउनु संस्थाको विशेषता हो । पुस्तान्तरणले नेपाली साहित्यलाई घाटा नहोस् भनेर स्थापनाकालदेखि नै नयाँ र पुरानोलाई जोड्ने पुल बन्न चाहेको स्मृति बताउँछिन् । स्थापनाकालदेखि हालसम्म नियमितरूपमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्दै आइरहेको प्रतिष्ठानले पहिलो चार वर्षसम्म प्रत्येक महिनाको तेस्रो शनिवार नियमित साहित्यिक शृङ्खला गरेको थियो भने विगत केही वर्षदेखि विभिन्न पुस्ताका स्रष्टाहरूलाई एउटै मञ्चमा आमन्त्रण गरेर विशेष शृङ्खलाहरू गर्दै आइरहेको छ । संस्थाले हालसम्म १०० भन्दा बढी कार्यक्रम गरिसकेको छ भने ७० नियमित शृङ्खला सम्पन्न गरिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको