December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

भारतले धौलीगंगा बाँध खोल्यो, सतर्क रहन आग्रह

बैतडी – भारतले आज पनि ​धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्न लागेको छ। 

उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको सो बाँध आज राति १२ बजेदेखि भोली बेलुकी पौने सात बजेसम्म खोलिने एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जानकारी दिएको छ।  भारतले धौलीगंगा बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्याँस गाउँपालिका-५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

यस्तै, बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदीकिनार आसपास नजान अनुरोध गरिएको छ। दार्चुला र बैतडीका साथै डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीयहरूलाई नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्। शिल्ट फ्लशिङ्ग र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको जानकारी प्राप्त भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिएका छन्‌।

बाँध खोले पश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइराख्ने हुनाले सतर्क रहन आग्रह गरिएको छ। उता, परियोजनाले पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ। वि.सं. २०७० मा धौलीगंगाको बाढीका कारण दार्चुला सदरमुकाममा अर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो। २८० मेगावाट विद्युत् क्षमता रहेको धौलीगंगा परियोजनाको बाँध खोल्नुअघि पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि नेपालतर्फ पूर्व-सतर्कता अपनाउन सजिलो भएको छ।

शीर्ष समाचार

धेरै पढिएको