May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

तनहुँको स्थानीय तहमै शीतभण्डार निर्माण अगाडि बढाउदै

दमौली – कृषिउपज सामग्री भण्डारण गरी उपयुक्त समयमा बिक्री वितरण गर्नका लागि तनहुँका स्थानीय तहले शीतभण्डार निर्माणलाई अगाडि बढाएका छन् । जिल्लास्थित विभिन्न स्थानीय तहले शीतभण्डार निर्माण थालेका हुन् ।

घिरिङ गाउँपालिका–१ अत्रौलीमा शीतभण्डार निर्माण सुरु भएको छ । सङ्घीय सरकार र घिरिङ गाउँपालिकाको लागत साझेदारीमा शीतभण्डार निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । दुई करोड दश लाख ८८ हजार २८६ को लागतमा निर्माण हुने शीतभण्डार विसं २०८० मङ्सिर १४ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । शीतभण्डार निर्माणका लागि आरएनसिएस कश्याप जेभीसँग सम्झौता भएको छ । किसानले उत्पादन गरेका कृषि उपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्नसक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण थालिएको अध्यक्ष रानाले जानकारी दिए ।

गाउँपालिका क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो । ‘गाउँपालिकाभित्र व्यावसायिक रुपमा उत्पादन भएका कृषि सामग्रीको उचित मूल्य पाउन नसक्दा किसानलाई समस्या हुँदै आएको छ, शीतभण्डार निर्माण सम्पन्न भएपछि यो समस्या हट्ने विश्वास लिएका छौ’, उनले भने, ‘गाउँपालिकाभित्र उत्पादन हुने आलु, अदुवालगायतका वस्तुलाई भण्डारणको व्यवस्था मिलाएर बिक्री वितरण गर्ने लक्ष्य लिइएको छ ।’

शीतभण्डार नहुँदा उचित मूल्य पाउन नसकेका किसानलाई यसले सहयोग पुग्ने स्थानीयवासी विष्णुभक्त सिग्देलले बताए । व्यास नगरपालिकाले पनि शीतभण्डार निर्माण थालेको छ । व्यास नगरपालिका– ११ मा रु तीन करोडको लागतमा शीतभण्डार निर्माण भइरहेको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए ।शीतभण्डार निर्माण भएपछि आलुलाई भण्डारण गरेर बिक्री वितरण गर्न सकिने खड्काले बताए ।

चालू आर्थिक वर्षभित्रै शीतभण्डारको काम सम्पन्न हुनेछ । नगरमा उत्पादन हुने आलु, अदुवालगायतका वस्तुलाई यसवर्ष भण्डारण गर्ने व्यवस्था मिलाइने उनले बताए । किसानले उत्पादन गरेको आलु शीतभण्डारसम्म पुर्‍याउन वडा कार्यालयले नै व्यवस्था मिलाउँदै आएको छ । शीतभण्डारसम्म आलु ढुवानीका लागि यसवर्ष रु दुई लाख बजेट विनियोजन गरिएको छ ।

‘किसानले उचित मूल्य पाउन भन्नका लागि शीतभण्डारसम्म आलु ढुवानीका लागि सहयोग हुँदै आएको छ, तर यही शीतभण्डार निर्माण भएपछि किसानलाई पनि सहज हुन्छ,’ रेग्मीले भने । किसानलाई आत्मनिर्भर बनाउन यस वडामा आलुको बीउ वितरण गरिएको थियो । ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले वडा नम्बर नं ८ मा आलु उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

उक्त कार्यक्रमलाई सघाउन सङ्घीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलुबाली विकास कार्यक्रम अन्तर्गत आलु पकेट कार्यक्रम सञ्चालनार्थ रु २४ लाख बजेट पठाएको थियो । शीतभण्डार नहुँदा समस्या भोगेका किसान शीतभण्डार निर्माण सुरु भएपछि खुसी भएका छन् । शीतभण्डार नहुँदा उचित मूल्य पाउन नसकेको किसान मञ्जु श्रेष्ठले गरिन् ।

शीर्ष समाचार

धेरै पढिएको