September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

पार्टीभित्रैबाट नैतिक संकटमा ओली

काठमाण्डौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नैतिक संकटमा फसेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनीविरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि नैतिक संकटमा परेका प्रधानमन्त्री साँझ भैंसेपाटीस्थित वामदेव निवासमा पुगे ।

मंगलबार बिहान ११ बजे आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली आफू त सहभागी भएनन् नै, आफ्नो समूहका १४ नेताहरुलाई गयल हुन निर्देशन दिए । ४४ सदस्यीय स्थायी कमिटीका २९ जनामात्रै सहभागी भएर बैठक बस्यो ।

बिहान ११ बज्न केहीबेर मात्र बाँकी हुँदा प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा बैठक स्थगनको सूचना प्रेस सल्लाहकार सूर्य थापामार्फत सार्वजनिक गरेका थिए । बैठक स्थगित भएको सूचना पाएर बाटैबाट घर फर्किएका केही नेताहरु पछि फेरि बालुवाटारमा आए र बैठकमा सहभागी भए ।

ओली समूहका नेताहरुको अनुपस्थितिमै बसेको बैठकले प्रधानमन्त्रीविरुद्ध प्रस्ताव नै पारित गर्‍यो । सहभागी नेताहरुका अनुसार प्रधानमन्त्रीको सरकारी निवासभित्रै बहुमत सदस्यहरु बसेर प्रधानमन्त्रीविरुद्ध यसरी प्रस्ताव पारित गर्नु भनेको प्रधानमन्त्रीमाथि उठेको गम्भीर नैतिक प्रश्न हो ।

शीर्ष समाचार

धेरै पढिएको