March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार
KN hd tv

ओलीले भने– चोलेन्द्र शमशेर हट्दैमा न्यायालय सच्चिने अवस्था छैन

काठमाडौं– संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अवकाश (बहिर्गमन) प्रस्थान बिन्दु नभइ अन्त्य भएको टिप्पणी गरेका छन्। 

‘प्रधानन्यायाधीशको अवकाश भनेको प्रस्थान बिन्दु होइन, अन्त्य हो। त्यो पूर्ण बिराम लगाउने कुरा नै हो। त्यसका अनेकौं लक्षण देखिएका छन्। पुरानो फैसलातिर म जान चाहन्न,’ राणाविरुद्ध महाअभियोग  लगाउनका लागि सहयोग माग्दै पुगेका नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहितका कानुन व्यवसायीसँग ओलीले भने, ‘फैसला कसरी भएको रहेछ भन्ने कुरा एकजना राजनीतिक नेताले भन्नुभयो। तपाईंले असाधारण गुण लाउनुनभएको छ, त्यो बिर्सन्नौं भन्ने कुरा भए। मानपदवी तक्माका कुरा पनि आए।’

सत्तामा बसेकालाई गुण लगाएका कारण अहिले प्रधानन्यायाधीश राणा राजीनामा नदिइ बसेको पनि ओलीले टिप्पणी गरे। ‘प्रधानन्यायाधीश ज्यू तपाईंहरुले यति गर्दा किन राजीनामा गर्दिन भन्नुभएको छ? उहाँले राजीनामा किन दिनु हुँदैन भन्दा गुण लगाउनुभएको छ,’ ओलीले भने। 

प्रधानमन्त्री हटेको र नियुक्त भएको कुरा संसदले थाहा नपाएको उल्लेख गर्दै ओलीले संसद विघटन उल्टाउने फैसला पहिले नै तयार पारी लेखेर सुनाउने काम भएको बताए। 

ओलीले न्यायालयलाई तत्काल सच्याएर लैजान सक्ने स्थिति नरहेको बताए। चोलेन्द्र शमशेरले राजीनामा दिँदैमा वा उनीविरुद्ध महाअभियोग लगाउँदैमा न्यायालय सच्चिने अवस्था नरहेको ओलीले दाबी गरे।  

‘न्यायायललाई तत्काल सच्चाएर लैजान सक्ने स्थिति पनि म देखिरहेको छैन। तपाईं हामी नै कति तयार छौं त? राजनीतिक दल, न्यायाधीश र वकिलहरु पनि सच्चिनु आवश्यक छ। सबै सच्चिनुपर्ने आवश्यक देखियो,’ ओलीले भने, ‘चोलेन्द्र शमशेरले राजीनामा गर्दैमा र महाअभियोग लगाउँदैमा अहिलेको न्यायालय सच्चिने भए त ठिकै हो। तर, त्यो नै होला जस्तो त म देखिन्दनँ। म जटिल देख्छु। चोलेन्द्रजी भनिरहनुभएको छ म संवैधानिक बाटोबाट आएकाले बाहिरिन्न। शेरबहादुर जी भनिरहनुभएको छ।’ 

न्यायालय सच्चिन जरुरी रहेको उल्लेख गर्दै ओलीले त्यसमा आफूहरुको साथ रहने बताए। ‘न्यायालय सच्चाउने कुरामा हाम्रो साथ हुन्छ। यसलाई पूर्ण रुपमा तपाईंहरु लैजानुस् हामी साथमा छौं। न्यायालय सच्चिनु जरुरी छ,’ ओलीले भने।

शीर्ष समाचार

धेरै पढिएको