जनता र कार्यकर्ता होइन, नेता बिग्रेका हुन् : प्रचण्ड
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र कार्यकर्ता नबिग्रेको बताएका छन्। बिहीबार पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले नेता बिग्रिएको बताए। ‘अप्ठ्यारो स्थितिमा पनि जनता हामीसँग आए भनेपछि जनता र कार्यकर्ता बिग्रेका होइन, अलिअलि बिग्रेको बरु नेताहरु नै हो। नेताहरु सच्चिन्छन् भनेपछि त पूरै चिज ट्र्याकमा आउँदोरहेछ भन्ने कुरा प्रमाणित भएको छ,’ उनले भने।
प्रचण्डले आफूहरु आन्दोलनमा गइसकेपछि र जनतालाई अपिल गरिसकेपछि जनता आफूहरुको साथमा हुँदोरहेछ भन्ने कुरा केपी ओलीले संसद् विघटन गरेपछि पुष्टि भएको बताए। प्रतिगमन विरोध आन्दोलनका बेलामा भएका ठूल्ठूला जनप्रदर्शन र जनसभाहरुमा पनि लाखौंको संख्यामा जनता आएको उनले बताए।
प्रचण्डले आफूले प्रधानमन्त्री हुँदा राखेको संविधान संशोधन प्रस्ताव एमाले नामको केपी गुटले नमानेको हुनाले त्यो पारित नभएको बताए। ‘तपाईंहरुलाई थाहा छ, एमालेको केपी गुटचाहिँ मधेस विरोधी छ। आदिवासी जनजातिको विरोधी छ। दलित, महिला र मुस्लिमहरुको हक अधिकार र पहिचानको विरोधी छ। उसैको कारणले संविधान संशोधन पनि भएन,’ उनले भने।
प्रतिकृया दिनुहोस्