नेपाल बारले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै
काठमाडौँ – नेपाल बार एसोसिएसनले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत बारले भोलि बारको कार्यसमिति बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
बैठकमा आगामी आन्दोलनको मोडलबारे छलफल गर्ने र त्यसपछि घोषणा गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। बारले यसअघि चौथो चरणको आन्दोलन शुक्रबारसम्मका लागि घोषणा गरेको थियो ।
बारले आज पनि सर्वोच्च अदालत परिसरमा नियमित धर्ना दिएको छ । यसअघि उसले यस विषयमा ध्यानाकर्षण गर्न विभिन्न तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
यसै क्रममा आज नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको अध्यक्ष श्रेष्ठले बताए । नेता नेपालसँग दिउँसो साढे २ बजे भेट्ने कार्यक्रम तय भएको छ।
बारले सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीलगायत विपक्षी दलहरु नेकपा एमाले र राष्ट्रिय जनमोर्चा पार्टीलगायतलाई ध्यानाकर्षण गराइसकेको छ ।
यस्तै सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो । तर यस विषयमा दलहरुले भने चासो देखाएका छैनन् । प्रधानन्यायाधीश राणाले भने नियमित काम गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्