सहमति जुटाउन एमालेका शीर्ष नेताहरुसँग छलफल गर्दै ओली
सौराहा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुसँग छलफल थालेका छन्। उनले आफूनिकट नेताहरुलाई पार्क सफारी होटलमा बोलाएर छलफल गरिरहेका छन्।
ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायत सहभागी रहेका छन्। उक्त छलफलमा पूर्वमाओवादी केन्द्रपक्षका नेताहरु रामबहादुर थापा, लेखराज भट्टसमेत सहभागी रहेको बुझिएको छ।
ओलीले छलफलमा नेता भीम रावल र घनश्याम भुसाललाई नबोलाएको स्रोतले बताएको छ।
शुक्रबार उद्घाटन भएको एमाले महाधिवेशनको शनिबारबाट बन्दसत्र सुरु भएको थियो। अध्यक्षसहित पदाधिकारी स्थायी कमिटी र केन्द्रीय कमिटीमा जान नेताहरुबीच प्रतिस्पर्धा चल्न थालेपछि ओली अप्ठ्यारोमा परेका हुन्।
बन्दसत्रको हलले शनिबार उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिएको छ। तर, रावलपक्षले भने त्यसको विरोध जनाउँदै प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुनुपर्नेमा दबाब दिँदै आएका छन्।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलपक्षले प्रतिनिधिहरुसँग मत माग्नेक्रमलाई तीव्रता दिएको छ।
यता सर्वसम्मत नेतृत्व चयन गर्न कठिन हुँदै गएपछि ओलीले आफूनिकट नेताहरुलाई बोलाएर छलफल थालेको बुझिएको छ।
प्रतिकृया दिनुहोस्