एमाले महाधिवेशन : सर्वसम्मत गरेर आजै सक्ने तयारीमा ओलीपक्ष, रावल र भुसाल पक्ष भने उम्मेदवारी दिनेमा अडिग
चितवन– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनको सौराहमा जारी छ। शनिबार झण्डै पाँच घन्टा ढिलो गरी सुरु भएको बन्दसत्र आज पनि निरन्तर हुनेछ। शनिबार दिनभर सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरे पनि सम्भव हुन सकेको छैन।
आज पनि अध्यक्ष मण्डलका संयोजक केपी शर्मा ओलीले केही कसरत गरेका छन्। शनिबार नै बन्दसत्रबाट केन्द्रीय कमिटी सदस्य र पदाधिकारीकै उम्मेदवारीको नामावाली प्रस्ताव गर्ने अधिकार आफ्नो हातमा लिइसकेका ओलीले आज त्यसैअनुसार बन्दसत्रको सुरुमै नामावली प्रस्तुत गर्ने तयारी गरेका छन्।संस्थापन पक्षले पूर्व घोषित निर्णय अनुसार आजै महाधिवेशन समापन गर्ने तयारी गरेको छ।
यसबारेमा शनिबार साँझ नै एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सञ्चारमाध्यमलाई समेत जानकारी गराइसकेका छन्। ‘भीम रावलजी लगायतले उम्मेदवारी दिने भन्नुभएको छ। तर त्यो गरे पनि निर्वाचन हुँदैन अन्तिममा सबै सहमति हुन्छ,’ ओली निकट एक नेता भन्छन्, ‘एकताको सन्देश दिनका लागि पनि हामीले सर्वसम्मत गर्न खोजेका छौं।’
महाधिवेशन हलले अध्यक्षमण्डलका संयोजक केपी शर्मा ओलीलाई पदाधिकारी र केन्द्रीय समितिको सर्वसम्मत नाम प्रस्ताव गर्न म्यान्डेट दिएको विषयप्रति नेता रावलले असन्तुष्टि जनाइसकेका छन्। यसलाई अर्का नेता घनश्याम भुसालले पनि लोकतन्त्रको चिरहरण भनेका छन्।
संस्थापन पक्षले सर्वसम्मत गर्ने भनिरहँदा रावलले भने अध्यक्षमा उम्मेदवारी दिइछाड्ने बताएका छन्। त्यस्तै भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
उनीहरु निकट पदाधिकारी र केन्द्रीय कमिटीका आकांक्षी नेताहरुले पनि उम्मेदवारी दिने भएका छन्। ‘पहिले हामी केन्द्रीय कमिटीको नामावली कसरी आउँछ हेर्छाै,’ रावल निकट एक नेता भन्छन्, ‘हाम्रो नाम समावेश हुन सकेन भने उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने हो।’
अध्यक्ष ओलीले विरोध नगरी बसेको भए रावललाई उपाध्यक्षमा दोहोर्याउन खोजेका थिए। तर, अहिलेको परिस्थितिमा रावललाई नसमेट्ने उनको मनशाय रहेको बुझिएको छ।
अर्का नेता भुसाललाई पनि उनले उप महासचिवमा दोहोर्याउन खोजे पनि सहमतिका नाममा एकाधिकार गर्न खोजेको भन्दै अभिव्यक्ति दिन थालेपछि ओली त्यसबाट पछि हट्ने देखिएको छ।
शनिबार नै ओलीले रावललाई जवाफ दिने क्रममा असहमत हुने साथीहरुले उम्मेदवारी दिन सक्ने र त्यसमा कुनै रोकटोक नहुने बताएका थिए। ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार पारिसकेका छन्।
दश बुँदे सहमतिका अन्य नेता मौन
सर्वसम्मत नेतृत्व चयन गरेर जाने विषयमा नेकपा एमालेको चितवनमा जारी महाधिवेशनको बन्दसत्रले अध्यक्षमण्डलका संयोजक केपी शर्मा ओलीले अधिकार प्रदान गर्ने विषयमा भीम रावल र घनश्याम भुसालले असहमति जाहेर गरे पनि दश बुँदे सहमतिमा एमालेमै रहेका अन्य नेताहरु भने मौन नै देखिएका छन्।
उनीहरुले अहिलेको परिस्थिति पार्टीलाई बलियो बनाएर लैजानुपर्ने रहेको भन्दै सहमतिमा नै नेतृत्व चयन गरेर जानुपर्ने बताएका छन्। शनिबार बन्दसत्रपछि पत्रकारहरुसँगको कुराकानीमा नेतृ अष्टलक्ष्मी शाक्यले अहिलेको आवश्यकता सर्वसम्मत नै भएको प्रतिक्रिया दिएकी थिइन्। तर, उनले कसैको उम्मेदवारी दिन पाउने अधिकार वञ्चित भने नहुने बताइन्। अन्य नेताहरुले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
प्रतिकृया दिनुहोस्