September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

कम्युनिस्ट सरकारले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प लिएको छः ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको सरकारले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प लिएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्दै देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट सरकारले लिएको बताएका हुन् ।

‘विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव, बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु,’ उनले भनेका छन्, ‘यस देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीको यस सरकारले लिएको छ । यस संकल्पलाई साकार पार्ने दिशामा अग्रसर हुन पुष्पलाल स्मृति दिवसका अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु ।’

प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउने साधन पार्टी भएको बताउँदै नेकपा एकताबद्ध भए अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

‘देशलाई समृद्ध बनाउने साधन पार्टी हो । पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य छ । त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अगाडि सारेका छौं’, उनले भनेका छन् , ‘हामी यसअघि गर्न नसकेका र नगरिएका तमाम कामहरु गर्दैछौं । पुष्पलालका नीतिहरु आजका सन्दर्भमा यिनै हुन् । पुँजी र प्रविधिलाई हाम्रा प्रयासहरुमा मिसाऔँ, उत्पादन वढाऔँ, निर्यात वढाऔँ, आयात घटाऔँ । यस बाटोबाट हामी समृद्धि हासिल गर्ने छौँ । र, आज हामी समृद्धिका लागि मेहनत गरिरहेका छौं ।’

उनले अहिले कम्युनिस्ट पार्टीको सरकारले समानतालाई समृद्धिसँग जोडेर अघि बढिरहेको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको